नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।
नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताए । ‘मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका सङ्घसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी छ’, उनले भने ।
विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले बताए ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।














