खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा आगलागी हुँदा तीन वटा होटल र लघुवित्त कार्यालय जलेका छन् ।
हिजो साँझ सात बजेतिर ग्यास पसलबाट सुरु भएको आगोले तीन वटा घर पूर्ण रूपमा र एउटा घरमा आंशिक क्षति भएको हो । आगलागीले स्थानीय पदमशेर राईको हार्डवेयर पसल सहितको घर, प्रकाशचन्द्र गिरीको होटल हलेसी दर्शन रेस्टरेन्ट सहितको घर, ऐराख राईको कल्याण होटलसहित घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
यसबाहेक भरण राईको पारुहाङ होटल र घरमा पनि आंशिक क्षति पुगेको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिनुभयो । विस्तृत क्षति विवरण भने आउन बाँकी छ । आगो राति करिब साढे १० बजेतिर नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नम्बर हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीय लगायत गरी करिब पाँच सय जना खटिएका थिए । दमकल नभएपछि आगो नियन्त्रणका लागि ट्र्याक्टर, ट्यांकर, भाँडाकुँडा लगायतबाट समेत पानी ओसारेर प्रयोग गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिनुभयो ।
हलेसी तुवाचुङ नगरपालिकामा दमकल नभएकाले आगो नियन्त्रणमा समस्या भएको हो । नगरपालिकाको दमकल नभएको र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दमकल पनि बिग्रेको बताइएको छ । ओखलढुंगाको दमकल चलाउने ड्राइभर नहुँदा उदयपुर कटारी र भोजपुर नगरपालिकाको दमकल मगाइएको थियो, तर आगो नियन्त्रणमा आएपछि दमकल फर्काइएको बताइएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन । तर नियन्त्रणमा खटिएकाहरुलाई चोट लागेको बताइएको छ । -कान्तिपुर टिभि