खुसी हुनु स्वास्थ्यकालागि लाभदायक, यसरी हुनुस खुसी

19

काठमाडौं । आखिर हामी जे जति काम गर्छौ, ति सबैको सार हो, खुसी । मिठो खाएर होस्, नाचगान गरेर होस्, प्रतियोगिता जितेर होस्, सुविधा भोग गरेरै होस् हामीले खुसी खोजिरहेका हुन्छौ । घतलाग्दो त के भने, त्यो खुसी हामीभित्रै छ । तर, आफैभित्रको खुसी पनि हाम्रो निम्ति दुर्लभ छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौ । हामी किन हरबखत खुसी वा प्रशन्न रहन सक्दैनौ ? अध्ययनहरुले भन्छ, भौतिक जरुरत, इच्छा वा सफलताको अपेक्षा, जीवनको सम्बन्धमा आफ्नो दृष्टिकोण, आफ्नो इष्टमित्र, आफन्त र नातेदारको गुणवत्ता जस्ता कुरामा खुसी निर्भर रहन्छ । खुसी हुनु स्वास्थ्यका लागि फाइदाजनक हो ।

कसरी खुसी हुने ?

१. आशावादी रहनुपर्छ

२. सकारात्मक दृष्टिकोण बनाउनुपर्छ

३. आधारभूत आवश्यक्ता पुरा गरौं

४. क्षमा गर्न सिकौ

५. अरुप्रति कृतज्ञ रहन सिकौं

६. असल साथीहरु बनाऔं

७. स्वस्थ्य र तन्दुरुस्त रहन सिकौं

– सानोतिनो कुरालाई पनि परिपक्क वा अनुभवी हिसावले ग्रहण गरौ । यदि दिमागलाई खुसी राख्ने हो भने, यो राम्रो तरिका हो । आफुलाई जे कुराले खुसी बनाउँछ, त्यसैलाई मनमा लिनुपर्छ ।

– दिनभर जे जति आनन्ददायक घटना घट्छ, त्यसलाई मनमै संग्रह गरौं । एउटा डायरी बनाएर त्यस्ता कुरा पनि लेख्न सकिन्छ । मानौ, हामीले आज मिठो ब्रेकफास्ट गर्‍यौ, कुनै साथीले घतलाग्दो कुरा गरे, कतैबाट अप्रत्यासित खुसी तुल्याउने फोन आयो, कसैले प्रेमपूर्वक व्यवहार गर्‍यो । दिनभर घट्ने यस्तै सुखद पलहरुलाई मनमा संग्रह गरौ ।

– आफुसँग जे चिज छ, त्यसका लागि गहिराईबाट कृतज्ञता महसुष गरौ । आफुसँग जे छ, त्यसैमा कृतज्ञ रहने अभ्यास गरौं । यसले जीवनमा अधिक सन्तुष्ट प्राप्त हुन्छ ।

– दृष्टिकोण पनि बदल्नुपर्छ । जस्तो कि, कुनै आधा भरिएको गिलास छ । त्यसलाई ‘आधा खाली गिलास’ भनेर नहेरौं । बरु ‘आधा भरिएको गिलास’ भनेर हेरौं । दिमागलाई यसरी एडजस्ट गरौ कि, हरेक चिजलाई राम्रो पाटोबाट देख्न सकियोस् ।

– यो कुरा बुझौ कि, मोजमस्ती गर्नु खुसी हुनु होइन । मोजमस्तीबाट प्राप्त खुसी क्षणिक हुन्छ । हामीले टिकाउयुक्त खुसी खोज्नुपर्छ ।

– आफुमा यस्तो गुण विकास गरौं, जसले सधै खुसी दिलाउन सक्छ । जस्तो कि, अरुप्रति कृतज्ञ हुन सिकौं । विनम्र, विनयी, सकारात्मक, दयालु जस्ता गुणले खुसी दिलाउँछ । रिस, अहंकार, दम्भ, प्रतिसोधको भावनाले खुसी टिक्न दिदैन ।

– आफ्नो मूलभूत आवश्यक्ता पुरा गरौं । खान, बस्न, घुमफिर गर्न, रमाइलो गर्न, चाडपर्व मनाउन आदिका लागि सक्षम हुनुपर्छ । पैसाले खुसी दिदैन । तर, यसले त्यो भौतिक आवश्यक्तालाई पुरा गरिदिन्छ, जो खुसीको माध्याम बन्न सक्छ ।

– स्वस्थ्य रहनुपर्छ । खुसी हुनु भनेको मानसिक कुरा हो । तर, यसमा शारीरिक अवस्थाले पनि प्रभाव पार्छ । शारीरिक रुपमा स्वस्थ्य, तन्दुरुस्त भइयो भने नै खुसी अनुभूत गरिने हो । यसर्थ व्यायाम गरौं, सन्तुलित खानपान गरौ, योग गरौं, सक्रिय जीवनशैली अपनाऔं ।