यूएसएआईडीको वेबसाइड बन्दः सबै कार्यक्रम बन्द हुने संकेत

56

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)को वेबसाइड बन्द गरिएको छ । उता कर्मचारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निलम्बन गरेका छन् । उनले यूएसएआईडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीहरूलाई निलम्बित गरेका हुन् । निलम्बनमा पर्नेमा एजेन्सीका निर्देशक जोन वूर्हीज र उपनिर्देशक ब्रायन म्याकगिललगायत छन् । उनीहरूको इलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग यूएसएआईडी सिस्टममा पहुँचको विषयमा विवाद भएको थियो ।

डिपार्टमेन्टका कर्मचारीले सिस्टममा पहुँच दिन आग्रह गरे पनि यूएसएआईडीका अधिकारीहरूले अनुमति दिन नमानेपछि विवाद भएको हो ।डिपार्टमेन्टका कर्मचारीहरूले यूएसएआईडीको मुख्यालयमा जबरजस्ती प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूले सिस्टममा पहुँच नदिए सुरक्षा अधिकारीलाई बोलाउने धम्कीसमेत दिएका थिए । विवादका बीच उनीहरू यूएसएआईडीको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए ।

गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीहरू बिना अनुमति यूएसएआईडीको संवेदनशील स्थानहरूमा प्रवेश गरेको दाबी सीएनएनले गरेको छ । उनीहरूले नागरिकको गोप्य सूचना समेत संकलन गरेका थिए । गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टकी एक कर्मचारी कैटी मिलरले भने गोप्य सामग्रीमा बिना अनुमति पहुँच नगरिएको स्पष्ट पारेकी छन् । यसैबीच, इलन मस्कले एक्समा लेखेका छन्, ‘यूएसएआईडी एक आपराधिक संगठन हो, अब यसलाई बन्द गर्ने समय आइसकेको छ ।’