एक वर्ष अघि सवारी दुर्घटनामा परेकी शिक्षिकाको अझै आएन होस, बचाउन आर्थिक सहयोगको अपिल

19

पर्वत : जिल्लाको महाशिला गाउँपालिका–३ बालाकोटको बालारानी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सरिता चापागाईँ सवारी दुर्घटनामा परेको एक वर्ष भयो २०८० साल कार्तिक दुई गते बागलुङ भगवती मन्दिर दर्शन गर्न जाने क्रममा कुश्मा नगरपालिकाको अर्मादीमा भएको दुर्घटनामा उनी परिन।
दसैँको घटस्थापनाको दिन बागलुङ मन्दिरमा पूजाआजा गर्नको लागि भन्दै श्रीमान् सुरज पौडेलले चलाएको मोटरसाइकललाई जिपले ठक्कर दियो। श्रीमान् र बीचमा बसेकी सानी छोरीलाई सामान्य चोट लागे पनि सरितालाई भने गम्भीर चोट लाग्यो। उपचारको लागि पर्वत अस्पताल हुँदै मणिपाल शिक्षण अस्पताल पोखरा, ग्रान्डी इन्टरनेशनल अस्पताल काठमाडौं, ट्रमा सेन्टर काठमाडौं हुँदै अहिले फेरि पोखराको जरेबर स्थित फेवा केयर सेन्टरमा राखिएको छ। ३० बर्षिया चापागाईँको होस पूर्ण होस अझै पनि नखुलेको मामा ससुरा लाल प्रसाद शर्माले बताए। दुर्घटनामा पर्दा मष्तिष्कको भित्री भागसम्म गहिरो चोट लागेर नसामा रगत जम्नुका साथै छाती र अनुहारको हड्डी पनि भाँचिएको छ।

एक वर्षसम्मको निरन्तरको उपचारपछि उनको स्वास्थ्यमा सुधार आउँदै गएको भए पनि आर्थिक समस्याका कारण अब उपचारमा समस्या भएकोले केही अभियान्ताहरूले सामाजिक सञ्जाल तथा फोनमार्फत सहयोग अभियानहरू सञ्चालन गरिरहेका छन्। उनको स्वास्थ्यमा सुधार आएसँगै धेरै चपाउन नपर्ने केरा, लिटो लगायतका खानाहरू दिन मिलेको, चिनेको मान्छे नजिक जाँदा आँसु बगाउने गरेको, बिस्तारै मानिसहरूतर्फ ध्यान दिन थालेको, उठाइदिएपछि अडेस लागेर बस्न सकेको तर पूर्ण होसमा मान्छे चिन्न भने नसकेको शर्माले बताए। सरिताको उपचारमा हालसम्म ४५ लाख भन्दा धेरै रकम खर्च भइसकेको छ। उनका श्रीमान् सुरज पौडेल फलेवास नगरपालिकामा रहेको पर्वत बहुमुखी क्याम्पसमा अस्थायी रूपमा शिक्षण गर्दै आइरहेका छन्। तर उनको आम्दानीले उपचारलाई निरन्तरता दिन पुग्ने कुरै भएन। अहिलेसम्मको उपचारको लागि परिवार र आफन्तभित्रका व्यक्तिहरूले रकम उपलब्ध गराउँदै आएका छन्। तर उपचार अझै पनि निरन्तर गर्नुपर्ने र फेरि पनि मोटो रकम खर्च हुने भएका कारण इच्छुक सहयोगदाताहरूमा सहयोगको अनुरोध गरिएको छ।

सुरजका बाबुआमाको रोजगारी छैन। सरिता प्राथमिक तहमा स्थायी नियुक्ति भएको २०७६ सालमा हो। २०८० सालमा दुर्घटनामा पर्दा चार वर्षको अवधिमा उनले पनि रकम जम्मा हुने बेला भएको थिएन। अहिले उनको उपचारमा दैनिक सात÷आठ हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ। ठक्कर दिएको जिपले २८÷३० लाख रुपैयाँ दिने तत्कालीन सहमति भएकोमा अझै पनि १४÷१५ लाख रुपैयाँ आउन बाँकी रहेको सरिताको परिवार बताउँछ। उपचारका लागि दिनुपर्ने क्षतिपूर्ति नआएका कारण पनि ‘फेसबुक’मा आह्वान गरेर खाजा खर्च कटाएर सहयोगको अपिल गर्नुपर्ने बाध्यता रहेको आफन्त मिलन पौडेलले बताए।

प्राथमिक तहमा स्थायी भएपछि सरिताले निम्न माध्यमिक तहमा शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भएकी थिइन्। उनी दुर्घटनामा परेर अस्पतालको शय्यामा रहेको बेलामा लिखितमा नाम निस्कियो। तर अझैसम्म पनि पूर्ण होसमा नआएकी उनले अन्तरवार्ता गुमाउनुप¥यो । शिक्षक बनेर धेरैलाई उज्यालो भविष्यको बाटो देखाउने शिक्षककै जीवन अँध्यारोमा परेको बेलामा उनलाई बचाउन सबैले सहयोग गरिदिन श्रीमान् सुरजले अनुरोध गरेका छन्।