सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकता दिएका छौंः नगर प्रमुख खत्री

33

भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिका भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका बताए । राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले भने नगरपालिकाले गरेको कामको खासै प्रचारप्रसार नभन, हामीले नगर र वडा स्तरबाट गरेको काम नगरबासीसमक्ष पुगेको भने छैन ।’

उनले वायुगुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने पहिलो नगरपालिका रहेको दाबी गरेका छन् । आइतबार नगरपालिकाको सहकार्यमा वायुगुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने पहिलो नगर रहेको बताएका हुन् ।’सरसफाइको तालिम दिने र वायुगुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने चाँगुनारायण नै देशैभरमा पहिलो हो, उनले भने ।

कार्यक्रममा नगरप्रमुख खत्रीले आफूहरु शासकका रुपमा नभइ सेवकका रुपमा सेवा दिइरहेको दाबी गरे । कानुनले नै तोकेको ऐन नियमको दायरामा बसेर पारदर्शी ढंगले कार्यहरु गरिरहेको उल्लेख गर्दै खत्रीले नगरपालिकामा काम लिएर आउने सेवाग्राहीलाई ‘मुस्कानसहितको सेवा’ दिइरहेको दाबी गरे ।

नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरिएको छ । त्यसका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि योजना बनाइरहेको नगर प्रमुख खत्रीको भनाइ थियो । तर, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुनाले भने पर्यटकको आगमनमा केही असहजता हुनसक्ने खत्रीले बताए ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको बताउँदै प्रमुख खत्रीले पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गरिएको जानकारी दिए । कार्यक्रममा नगरप्रमुख खत्रीले नगरले सधैं नगरबासीको आवश्यकताको क्षेत्रमा र हकहितमा नै काम गरिएको बताएका छन् । ‘हामीले निर्वाचित भएर आएबाट नै जनहितका लागि कार्यहरु गर्दै आएका छौं ।