काठमाडौं । रूपन्देही अदालतले रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीलाई पनि पक्राउ गर्न अनुमति दिएको छ । सुप्रिम सहकारीबाट आचार्य, अधिकारी र नोबडी प्रोडक्सन कम्पनीका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ रकम गएको देखिएको छ । नोबडी प्रोडक्सन अधिकारीका नाममा स्थापना गरिएको भए पनि त्यसमा हर्ताकर्ता आचार्य नै थिए । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धानका क्रममा पनि कास्की प्रहरीले काठमाडौं पुगेर गत भदौ ८ मा आचार्यसँग बयान लिएको थियो । सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराईले इलाका प्रहरी कार्यालय बुटवलमा गत असोज ५ मा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको थियो । प्रहरीको त्यही मागका आधारमा न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले संगठित रूपमा सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि १२ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।
‘सुप्रिम सहकारीको बचत रकम गोर्खा मिडियासमेतका कम्पनीहरूमा जम्मा भएको देखिएको र जाहेरी दरखास्त तथा पत्रमा उल्लेख भएका कम्पनीहरूमा सेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र बैंकिङ कारोबारमा हस्ताक्षरकर्ता भएको मिसिल संलग्न कागजातबाट देखिएका आधारमा’ उनीहरूमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ ९३० बमोजिम पक्राउ गर्न अनुमति दिइएको अदालतले जनाएको छ ।
‘सुप्रिम सहकारीबाट अपचलन भएर गोर्खा मिडियामा गएको रकम ठगी र संगठित अपराधमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न अब प्रहरीलाई बाटो खुलेको छ,’ जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले भने ।