विपद् व्यवस्थापन तयारीमा सरकार कमजोर

19

काठमाडौँ — विपद् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको छ । सतर्कता र उद्धारको तयारी कमजोर हुँदा राज्यशक्तिको सम्पूर्ण स्रोतसाधन केन्द्रित राजधानी उपत्यकाभित्रै बाढीपहिरोबाट ३७ जनाले ज्यान गुमाएका छन् । देशभरमा गरी १ सय १२ जनाको मृत्यु भएको छ भने १ सय जना घाइते भएका छन् । सार्वजनिक र व्यक्तिको सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखा र विज्ञहरूले एक साताअघिबाटै जोखिमको चेतावनी दिँदै आए पनि त्यसअनुसारको तयारी नभएको भन्दै सरकारको सर्वत्र आलोचना भएको छ । नागरिकस्तरबाट मात्रै नभई सत्तारूढ दलकै नेताहरूले समेत जनताको जीउधन सुरक्षामा सरकारले समयमै पर्याप्त ध्यान दिन नसकेको भन्दै आलोचना गरेका छन् ।

सत्तारूढ कांग्रेसका नेता शेखर कोइरालाले नागरिकको जीउधन सुरक्षामा सरकारले उदासीनता देखाएको टिप्पणी गरेका छन् । ‘राजधानीमा हेर्दाहेर्दै मान्छे बगेको घटनालाई समेत सरकारले बेवास्ता गरेको छ । यो चरम लापरबाही हो,’ एक सार्वजनिक कार्यक्रममा कोइरालाले भनेका छन्, ‘सरकार भनेको कुर्सी र पद मात्रै हो ?’ राजधानीमै ठूलो जनधनको क्षति भएको, बाहिरी सडक सम्पर्क टुटेको उल्लेख गर्दै कोइरालाले ‘राज्य कहाँ छ ?’ भनेर प्रश्न गरेका छन् ।

ललितपुरको नख्खुमा टिनको छाप्रामाथि बसेर उद्धार कुर्दाकुर्दै शनिबार बिहान पाँच जना बगेका थिए । यस सम्बन्धमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भने, ‘उद्धार गर्न हेलिकोप्टर तयारी अवस्थामा हुनुपर्‍यो । मौसमको अवस्था सबैले देखेकै हो । मौसम सुधार हुनासाथ हेलिकोप्टर र प्रहरी परिचालन गरेर उच्च जोखिममा रहेका नागरिकको उद्धार गरिएको छ ।’

गृहमन्त्री रमेश लेखकले ‘भिजिबिलिटी’ नभएकाले नख्खु खोलाको बीचमा टिनको छाप्रामाथि अड्किएका नागरिकको उद्धारमा हेलिकोप्टर प्रयोग गर्न नसकिएको बताए । ‘हेलिकोप्टर उडाउन पर्याप्त भिजिबिलिटी थिएन । जमिनबाट सशस्त्र र नेपाल प्रहरीका उद्धार टोलीले प्रयास गरेको थियो । त्यस क्रममा जवानहरू पनि डुबे । उनीहरूलाई नै उद्धार गर्नुपर्ने स्थिति भयो,’ उनले भने, ‘प्रयास गर्दागर्दै पनि नसकिएकामा सरकारकै तर्फबाट दुःख व्यक्त गर्न चाहन्छु ।’

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिकामा छन् । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा सहरी विकासमन्त्री सिंहका अनुसार प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार स्वदेश फर्कने कार्यक्रम छ । ओलीले बिहान सिंहसँग टेलिफोन संवाद गरेर बाढीपहिरोको अवस्थाबारे जानकारी लिएका थिए । संवादलगत्तै सिंहले सिंहदरबारमा विपद् व्यवस्थापनका पदाधिकारीसहित मन्त्री र सरोकारवाला मन्त्रालयका सचिवहरूको समन्वय बैठक राखेका थिए । यसअघि १० बजे गृहमन्त्री लेखकले आपत्कालीन सुरक्षा बैठक डाकेका थिए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारको उद्धार कार्य सन्तोषजनक रहेको दाबी गरेका छन् । सरकारले समयमै उद्धारलाई तीव्रता नदिएको भए अझै बढी नागरिकले ज्यान गुमाउने उनको भनाइ छ । ‘यति भीषण वर्षा होला भन्ने अनुमान हामीले गर्न सकेका थिएनौं । रिपोर्ट आएअनुसार विपद् व्यवस्थापन समिति र गृह मन्त्रालयले तयारी गरेका थिए । समयमै सरकारले उद्धार गरेकाले नै मृत्युको संख्या कम भएको हो,’ सिंहले कान्तिपुरसँग भने, ‘जिल्ला–जिल्लामा सीडीओ (प्रमुख जिल्ला अधिकारी) र सुरक्षाकर्मीहरू बिहानैदेखि सक्रिय भएर लागेका छन् । सरकारका तर्फबाट गर्नुपर्ने काम गरिरहेकै छौं ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।