काठमाडौँ । सहकारी ठगी नेपालमा कति भयावह छ भन्ने यसमा संलग्न आरोपीहरू पक्राउ परेको तथ्यांकबाटै खुलस्त हुन्छ । करिब एक दशकमा ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । धेरैजसो पैसावाल र शक्तिशाली हुन् तर, पक्राउ परेका सबैजसो पुर्पक्षका लागि जेलमा छन् ।
संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि गरेको सिफारिसअनुसार नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारी ठगिएको रकम, हाल चलिरहेका मुद्दा र भएका फैसलाको विश्लेषण गरिएको छ ।
२४ हजार २ सय २४ जना पीडित सर्वसाधारणले दिएका २ सय ५८ उजुरीका आधारमा प्रहरीले ६ सय ६९ जनालाई पक्राउ गरेको हो । यही बीचमा १ हजार ५ सय ४० भने फरार छन् । यी उजुरीमा प्रहरी अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि १ सय ११ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा १ हजार ३ सय ९१ जनालाई अभियुक्त बनाइएको छ । अदालत पुगेका मुद्दामा १ अर्ब ९० करोड ४६ लाख बिगो कायम गरिएको छ । सहकारी ठगीमा ३५ वटा मुद्दामा सजाय तोकिएको छ भने ५८ मुद्दा अहिले विचाराधीन छन् । कतिपय मुद्दा पुनरावेदनका लागि सरकारी वकिलको कार्यालयमा छन् ।
सहकारीको ६५ करोड ५४ लाख गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएको आरोपमा कम्पनीका सञ्चालक जोशी पक्राउ परेका हुन् । गोर्खा मिडियासँग जोडिएका पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीका सञ्चालकहरू यसअघि नै पक्राउ परी जेलमा छन् ।
सुप्रिम सहकारीको बचत अपचलनमा पक्राउ परेका अध्यक्ष ओमप्रकाश गुरुङ हाल भैरहवा कारागारमा छन् । सहकारी छानबिन समितिले उनलाई कारागारबाटै काठमाडौं झिकाएर बयान लिएको थियो । सुप्रिम सहकारीबाट गोर्खा मिडियामा पैसा लग्ने जीबी राई सोही सहकारीको समेत सञ्चालक रहेको र रवि लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री नै रहेको बयान उनले दिएका छन् । यो सहकारीबाट मात्रै १ अर्ब ३ करोड ५९ लाख हिनामिना भएको छ ।
लामिछानेको खातामा पैसा पठाउने सुप्रिम बचत तथा ऋण सहकारीकी क्यासियर रोशनी गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनलाई रूपन्देही जिल्ला अदालतले २ लाख धरौटीमा छाडेको छ, मुद्दा धाइरहेकी छन् ।
यस्तै, पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक तथा गोर्खा मिडिया प्रालिका सञ्चालक कुमार रम्तेल पनि अहिले कास्की कारागारमा छन् । उनले बुटवलको सुप्रिम सहकारीबाट रकम निकालेर रवि लामिछानेका नाममा रहेको कर्जाको किस्तासमेत तिरिदिएका थिए । ‘मैले चिनेका र सहकारीबाट ऋण लिएका रवि लामिछाने पूर्वगृहमन्त्री नै हुन्, उनीबाहेक मैले अरू रवि लामिछाने चिनेको छैन,’ उनले बयानमा भनेका छन् । लामिछाने राजनीतिमा जान गोर्खा मिडियाबाट बिदा भएपछि रम्तेल गोर्खा मिडियाको सञ्चालकका रूपमा भित्रिएका थिए ।
पोखराको सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवकुमार गुरुङ ९महेन्द्र भोटे० र सो सहकारीका सफ्टवेयर डेभलपर भविश्वर अर्याल पनि थुनामा छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको १ अर्ब ३५ करोड ४९ लाख हिनामिना भएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।