सूर्यविनायक नगरपालिकाले महिनाको तीन पटक बजार अनुगमन गर्ने

62

भक्तपुर । सूर्यविनायक नगरपालिकाले बजार अनुगमनलाई वार्षिक तालिका नै बनाएर लागू गर्ने भएको छ ।
नगर बजार अनुगमन समितिको बुधबार बसेको बैठकले हरेक महिनाको तीन पटक बजार अनुगमन गर्ने निर्णय गरेको उपप्रमुख सरिता तिमसिना भट्टराइले जानकारी दिनुभएको छ । ‘नियमित कार्यतालिकानै बनाएर हामी बजार अनुगमनका गर्नुका साथै उपभोक्ता र व्यवसायीलाई सचेतना कार्यक्रम गर्छौं,’ उपप्रमुख भट्टराइले भन्नुभयो ।

बजार अनुगमनको टोली आएपछि व्यवसायीले सटर बन्द गरेर हिड्ने अवस्थालाई अब व्यवसायी सचेतना कार्यक्रम मार्फत कम गर्ने नगरपालिकाको तयारी रहेको उहाँले बताउनुभयो । अब हेरक महिनाको तीन पटक वर्षको करिब ३६ पटक नगरक्षेत्रमा संचालित खाद्य, मासु, औषधी, दुधजन्यलगायतका व्यवसायहरुको अनुगमन हुनेछ । ‘व्यवसायी मात्रै नभएर आम उपभोक्ता समेत सचेत हुनुपर्ने’ भन्दै नगरउपप्रमुख भट्टराईले खरिद खाद्य सामाग्रीको उपभोग्य मिति हेर्न र खरिद बिल लिने बानी गर्न आग्रह गर्नुभएको छ ।

बैठकमा बोल्दै नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले चाडपर्वको समयमा मात्र नभएर वर्षभरी नै बजार अनुगमन गर्ने उद्देश्यका साथ वार्षिक कार्यतालिका बनाएको जानकारी दिनुभएको छ । बैठकमा उपभोक्ता अधिकारकर्मी, व्यवसायीको प्रतिनिधी, संचारकर्मीलगायतको उपस्थिती रहेको थियो ।