डुबेर दाजु, बहिनीको मृत्यु

29

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो ।

दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने छ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवैजनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिनुभयो ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटारबाट प्रहरी सहायक निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएका छन् । घटनास्थलमा खटिएका प्रहरी टोलीलाई घटनास्थल सुरक्षित राख्न लगाएर थप अनुसन्धान तथा कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थालतर्फ गएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गइद्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । NTV NEWS