जलेर घाइते भएकाहरुको नि:शुल्क उपचार गर्दै सरकार

25

काठमाडौँ : सरकारले विभिन्न कारणले जलेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने तयारी गरेको छ। यसअघि जलेर घाइते भएकाहरुलाई निश्चित रकम सहयोग गर्नेबारे छलफल गरे पनि अहिले आएर जलनका विरामीहरुलाई राज्यले नै नि:शुल्क उपचार गर्ने उद्देश्यअनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अघि बढाएको हो। यसको लागि मन्त्रालयले एउटा कार्यविधि नै बनाएर लागू गर्ने तयारी गरेको छ। स्वास्थ मन्त्रालयका नीति‚ योजना तथा नियमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार अहिले जलेकाका विरामीको निःशुल्क उपचारका लागि बनाइएको कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको छ। अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उनले जानकारी दिए। उनले भने‚ ‘विभिन्न कारणले जलनमा परेर घाइतेहरुलाई निःशुल्क उपचार गर्न तयारी गरिएको हो त्यसको लागि एउटा कार्यविधिको खाका बनाएर अर्थ मन्त्रालय पठाइएको छ। सो पास भएर आयो भने जलनमा विरामीहरुले सरकारी अस्पतालहरुमा निःशुल्क उपचार पाउनु हुन्छ।’

डा पौडेलका अनुसार अहिले बनाइएको कार्यविधिको खाकामा तत्काल प्रदेश र संघीय अस्पतालहरुलाई जलनका विरामीलाई उपचार गर्न वार्षिक ५०/५० लाख रुपैयाँ छुट्याउने, हाल विशेष रुपमा जलनको उपचार गरिरहेको कीर्तिपुर अस्पताललाई एक करोड र त्यहाँको भौतिक संरचना बनाउन एक करोड गरी कुल लगभग ६ करोड रुपैयाँ छुट्याउने गरी कार्यविधिको खाका बनाइएको र यसको लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिदिए केही समयमा नै यो कार्यविधि पास भएर कार्यान्वयनमा जाने डा पौडेलले बताए। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिएका छन्। डा पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधिमा जलनका विरामीको प्राथमिक उपचार प्रदेश अस्पतालमा हुने उल्लेख छ। त्यहाँ उपचार हुन नसकेका विरामीलाई संघीय (केन्द्रीय) अस्पतालमा रिफर गरिने र त्यहाँ पनि नभए हाल जलनसम्बन्धी विशेष उपचार गर्ने कीर्तिपुर अस्पतालमा रिफर गरेर उपचार गरिने व्यवस्था राखिएको छ।

जलन उपचारमा प्रादेशिक अस्पताल र केन्द्रीय अस्पताललाई सेकेन्डरी अस्पतालका रूपमा राखिएको छ भने कीर्तिपुर अस्पताललाई मुख्य अस्पतालको रुपमा राखेको छ। जिल्लामा उपचार हुन नसक्ने विरामी प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर हुँदा पनि विरामीको सम्पूर्ण उपचार निःशुल्क हुनेछ। दोस्रो तहका अस्पतालमा उपचार हुन नसकेको अवस्थामा कीर्तिपुर अस्पतालमा रिफर गर्ने गरी कार्यविधि बनाइएको उनले बताए। कीर्तिपुर अस्पतालमा भने सक्नेलाई केही प्रतिशत तिराएर र नसक्नेका लागि भने सम्पूर्ण उपचार निःशुल्क हुने व्यवस्था कार्यविधिको खाकामा उल्लेख गरिएको छ। तर सरकारीबाहेक निजी अस्पतालमा उपचारका लागि गएकाहरुको हकमा भने जलनको निःशुल्क उपचार नहुने र पछि रकम दावीसमेत गर्न नमिल्ने व्यवस्था कार्यविधिमा गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक ७६ हजार जना सामान्यदेखि जटिल प्रकारका जलनका कारण मानिसहरु घाइते हुने गरेका छन् ।