भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले शिक्षकहरुले आफ्नो पेशागत हकअधिकारकालागि राजनीति गर्नु पर्ने बताएका छन् । शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगर समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष देउजाले भने तपाई शिक्षकहरुले शैक्षिक सुधारकोलागि राजनीति गर्नु पर्दछ । आफ्नो कार्य क्षेत्र, समयभित्र राजनीति गर्नु नहुने र त्यसबाहिर पनि मर्यादा नभुलि सक्रिय हुनु पर्ने देउजाले बताए । सरकारले सत्र अठार प्रकारका शिक्षकलाई सम्बोधन गर्ने गरि नीति नियम बनाउनु पर्ने भन्दै आफुले त्यसतर्फ सक्दो पहल गर्ने एमाले अध्यक्ष देउजाको भनाई छ ।
शिक्षा क्षेत्रको सम्पूर्ण अधिकार स्थानिय सरकारलाई दिएको भएपनि त्यसको बारेमा सोच विचार गर्ने बेला आएको छ, अध्यक्ष देउजाले भने । एसईईको नजिताले नेपाल सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको देखिएकाले सबै एक जुट भएर सुधारमा लाग्न उनले आग्रह समेत गरेका छन् । कार्यक्रममा नेपाल शिक्षक महासंघ भक्तपुरका अध्यक्ष दधिराम गेलाल, चाँगुनारायण शिक्षा शाखाका प्रमुख दिनेश अर्याल, एमाले चाँगु नगरका अध्यक्ष राम तिमिल्सिना, शिक्षक संगठन भक्तपुरका अध्यक्ष गोविन्द ढुंगानालगायतले शिक्षा क्षेत्रको सुधारमा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।
अध्यक्षमा श्रेष्ठ चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगर समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा सोम कुमार श्रेष्ठ पूनः सर्वसहमत चयन भएका छन् । संगठनको उपाध्यक्षमा माधव ढकाल, नानुमैया गिरी, सचिवमा सुरेश ढुंगाना, सहसचिवमा दुर्गा घिमिरे, कोषाध्यक्षमा रामहरि अधिकारी, सहकोषाध्यक्षमा सरिता ढकाल चयन भएका छन् । सदस्यमा सरिता धिमाल, दयादेवि रिजाल, राजकुमार ढकाल, यशोदा सुवेदी, कुमार शाख र गोपाल बराल चयन भएका हुन् । 

















