बस दुर्घटनाको १२ दिनसम्म पनि भेटिएनन् ४३ यात्रु

13
photo: Poshnatha adhikari KTV

चितवन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैरामा कल्भर्ट फुटाएर आएको लेदोसहितको पहिरोमा बगेर गतअसार २८ को बिहानै त्रिशूली नदीमा दुई बस र त्यसमा सवार चालक, यात्रु बेपत्ता भएका थिए ।

आजको कान्तिपुर दैनिक अगाडी लेख्छ, घटनाको १२ दिन भइसक्दा पनि बुधबारसम्म दुई बससँगै ४३ यात्रु हराइरहेकै छन् । दुई वटा बसमा सवार ६५ जनामध्ये तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिए । हालसम्म फेला परेका २५ शवमध्ये १९ शवको मात्र सनाखत हुन सकेको छ । नेपाली सुरक्षाकर्मीसँगै भारतीय प्राविधिक अत्याधुनिक उपकरणसहित खोजीमा निरन्तर जुटिरहँदा पनि अपेक्षित सफलता हात लाग्न सकेको भने छैन । चितवन जिल्ला प्रशासनका अनुसार सडकबाट झन्डै सय मिटर तल त्रिशूलीमा खसेर हराएका बस र यात्रुको खोजीमा असार २८ को बिहान सवा ८ बजेदेखि नै नेपाली सेना र सशस्त्र प्रहरीको टोली गोताखोर र उपकरणसहित खोजीमा जुटेका थिए ।