काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्।
व्यास जयन्ती
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका हुन्।