काठमाडौंमा भेटियो पोलियो भाइरस, विशेष खोप अभियान चलाइने

25

काठमाडौं । काठमाडौंको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएको छ। भाइरस भेटिएपछि सरकारले साउन ९ गतेदेखि १२ सम्म उपत्यकामा विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिपुरका जन्म देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई लक्षित पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो । काठमाडौंको टुकुचा नदीको संगम स्थलको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएकाले बालबालिका लक्षित विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी पत्रकार सम्मेलन मार्फत् दिइएको हो ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार फेला परेको उक्त भाइरस ‘भ्याक्सिन डिराईभ्ड पोलियो भाइरस’ हो । ‘जेठ १३ गते संकलन गरिएको उक्त नमुनाको नतिजा २९ जेठमा नतिजा आएको हो,’ उनले भने। ‘नेपालमा २०६७ असोज १४ गते रौतहटमा पोलियोको अन्तिम केस फेला परेको थियो, हाल वातावरणीय निगरानीको क्रममा पोलियोको भाइरस भेटिएको छ,’ उनले भने। विश्व स्वस्थ्य संगठनले नेपालबाट पोलियो उन्मुलन भइसकेको घोषणा समेत गरिसकेको छ ।

उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए । उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीनवटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत् घर(घरमा दिइने छ ।