इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा बाढीले पुर्‍यायो क्षति

18

सिन्धुपाल्चोक : याङ्ग्री तथा इन्द्रावती नदीमा गएराति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ। ७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, सब स्टेसन र पावर हाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ। साथै खाल्डेखोलादेखि तिपेनीसम्मको सडकसमेत अवरुद्ध भएको छ । यो क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा बिरामीसमेत मारमा परेका लामाले बताए।

त्यस्तै चिण्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए। याङ्ग्री तथा इन्द्रावती नदीतटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ। चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ। मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिब्रिज’ पनि जोखिममा परेको छ। त्यस्तै नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्ड हल समेत बाढीको जोखिममा बताइएको छ। यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिब्रिज बाढीले बगाएको छ।