काठमाडौं । काठमाडौं महानरपालिका–२९ स्थित ठमेलको एक होटलबाट मलेसियाकी ४७ वर्षीया बाथुमलाई ओडिवलुलाई प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३० असारको बिहान पक्राउ गरेको हो ।
मलेसियाकी ओडिवलु १३ जुलाई (२९ असार) मा मलेसियाबाट लाओसको यात्रामा निस्केकि थिइन् । लगत्तै त्यसै दिन उनी लाओसबाट थाइल्याण्डको बैंकक आइपुगिन् । २९ असारकै राति ११ : २५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकि थिइन्। त्यहाँबाट पहिल्यै बुक भएको ठमेलस्थित एक होटलमा पुगेकि थिइन् ।
उनको साथबाट ५ किलो ८२० ग्राम लागु औषध कोकिन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार उनले विद्यार्थीहरुले बोक्ने किसिमको स्कुल ब्यागमा फल्स बटम बनाएर ल्याइएको थियो ।
‘पाँच वटा झोलामा फल्स बटम बनाएर ल्याएको अवस्थामा हामीले लागु औषध कोकिन बरामद गरेका हौं’, एसएसपी रजौरेले भने । बरामद कोकिनको अवैध बजार मूल्य २० करोड ३७ लाख हुने प्रहरी अधिकारीहरु बताउँछन् । अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेकी महिलाले ह्वाट्स एपमार्फत कुराकानी गर्ने गरेको र कुराकानीको विवरण हेर्दा बरामद कोकिनको गन्तव्य भारत हो ।
नेपाल आइसकेपछि उक्त कोकिन भारत पठाउने र भारतमा क्रिस्टोफर नाम गरेका व्यक्तिले कोकिनको व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘पक्राउ परेकी महिलाको ह्वाट्स एपको म्यासेजबाट क्रिस्टोफर नाम गरेको व्यक्ति यसमा संलग्न रहेको देखिएको छ । तर उनी को हुन्, उनको वास्तविक नाम के हो भन्ने अनुसन्धान हुन बाँकी नै छ’, एक अनुसन्धान अधिकृतले भने ।
पक्राउ परेकी महिला भरिया मात्रै भएको खुलेको छ । उनले कोकिन नेपालसम्म ल्याउने जिम्मा पाएको अनुसन्धान अधिकारीहरु बताउँछन् । काठमाडौं आइसकेपछि अर्को व्यक्तिले उक्त कोकिन जिम्मा लिने र त्यसलाई भारतसम्म पुर्याउने गरेको खुलेको छ । कोकिन काठमाडौं ल्याइपुर्याएर जिम्मा लगाएपछि ती महिला १९ जुलाईमा मलेसिया फर्कने तयारीमा रहेको पनि खुलेको छ । त्यसका लागि हवाइ टिकटसमेत उनले काटिसकेको पाइएको छ ।
उनी यसभन्दा अघि ५ पटक काठमाडौं आइसकेको देखिएको एसएसपी रजौरेले बताए । पक्राउ परेकी महिलाले अंग्रेजी नबुझ्ने भएकाले अनुसन्धानमा समस्या रहेको प्रहरी अधिकारीहरु बताउँछन् । पक्राउ परेकी महिलाविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण तथा ओसारपसार ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको छ । प्रहरी वृत्त सोह्रखुट्टेबाट लागु औषधको कसुरमा उनीविरुद्ध थप अनुसन्धान हुनेछ ।