‘तलाकको राजधानी’मा ५० औँ वैवाहिक वर्षगाँठ मनाएर प्रशंसा बटुलिरहेको जोडी

10

नाइजेरियामा एउटा यस्तो शहर जसलाई तलाक (सम्बन्धविच्छेद) को राजधानी भनेर चिनिन्छ। देशको उत्तरी शहर कानू, जहाँ एउटै व्यक्तिले कम्तीमा ३ पटकसम्म विवाह गरेर पनि सम्बन्ध टिकाउन सकेका छैनन्। तर त्यहीँको एउटा यस्तो जोडी, जसले आफ्नो वैवाहिक सम्बन्धको ५० औँ वर्ष पूरा गरेपछि लामो समयसम्म एकअर्कालाई साथ दिने जोडी भनेर प्रशंसा बटुलिरहेको छ। महमूद कबीर युसुफ र राबियातू ताहिरले भर्खरै आफ्नो विवाहको ५० औं वर्षगाँठ मनाएका छन्। यो जोडीले आफ्नो सुखद दाम्पत्य जीवनको रहस्य खोल्दै कानूमा ठुलो संख्यामा विवाह किन टुटिरहेका छन् भन्ने बतायो। नाइजेरिया एयरवेजमा काम गर्ने महमूद कबीर श्रीमतीको उदारताका कारण आफ्नो वैवाहिक सम्बन्ध यति लामो समय टिकिरहेको ठान्छन्। राबियातू पनि आफ्नो श्रीमान् निस्वार्थ, धैर्यवान व्यक्ति रहेको भन्दै प्रशंसा गर्छिन्। अहिले महमूद ७६ वर्ष र उनकी पत्नी रबियातू ७० वर्षकी भइसकेका छन्। उनीहरुको १३ जना छोराछोरी छन्। ‘मेरो श्रीमान् अप्ठ्यारा परिस्थितिको सामना गरिरहँदा पनि शान्त रहन्छन्। उनी निकै धैर्य गर्ने व्यक्ति हुन्। मलाई लाग्छ हाम्रो विवाह सफल हुनुमा उनको स्वभाव पनि एउटा कारण हो’ उनले भनिन्। अन्तरवार्ता दिने क्रममा दुवै एकअर्कासँग हुनुको आनन्द लिइरहेका देखिन्थे।

पाँच पटकसम्म विवाह

पाँचवटा विवाह र सम्बन्धविच्छेद गरेकी हुस्ना महमुद ३९ वर्षकी भइन्। उनले पाँच जनासँग विवाह गरे पनि कुनै टिक्न सकेन। हुस्ना महमूद र राबियातुको वैवाहिक जीवन देखेर निक्कै प्रभावित छिन्। ‘मैले सबै पाँचवटा विवाहमा मात्र ४ वर्ष छुट्टाछुट्टै श्रीमानसँग बिताउन सकेँ। तर महमुद र राबियातुले बिताएको जीवनको लामो अवधि देखेर निकै प्रभावित छु’ उनले भनिन्। हुस्ना चार सन्तानकी आमा हनु्। ‘मेरो सबै श्रीमान विवाहको समयमा निकै राम्रा हुन्थेँ, मेरो ख्याल गर्थे तर समय वित्दै गएपछि उनीहरु परिवर्तन भए जसले गर्दा मेरो सम्बन्ध टिक्नै सकेनन्’, उनले भनिन्, ‘मलाई कानू शहरलाई ‘तलाकको राजधानी’ भन्दा मलाई साह्रै दु:ख लाग्छ, यद्यपि मलाई विश्वास छ एकदिन यो बदलिनेछ।’तलाकको राजधानी सन् १९९० को दशकमा कानू शहरमा सम्बन्धविच्छेदको दर निक्कै बढ्यो। त्यसपछि नै यो शहर ‘तलाकको राजधानी’ भन्ने नामले चिनिन थाल्यो। तर यो शहरले आफूमाथि लागेको यस्तो अप्रिय छाप र नामलाई हटाउन सकेन।

नाइजेरियाको सबैभन्दा धेरै जनसंख्या भएको कानूमा एक महिनामा सयौं वैवाहिक सम्बन्ध टुट्ने गर्छन्। राजधानी कानू एउटा व्यापारिक केन्द्र नै बनेको छ। सन् २०२२ मा स्थानीय सरकारको सहयोगमा भएको एउटा अनुसन्धानबाट कानू राज्यमा ३२ प्रतिशत विवाह त्यो पनि ३ देखि ६ महिनामात्र टिकेको पत्ता लागेको थियो। २० देखि २५ वर्ष उमेरका केही व्यक्तिले तीन-तीन पटक विवाह गरिसकेका पाइयो। सम्बन्धविच्छेदको दर देशको ठूलो चिन्ताको कारण बनेको छ। विशेषगरी, कानू राज्यको आर्थिक सहायोगमार्फत सञ्चालित इस्लामी एजेन्सी ‘हस्बा’ लाई धेरै चिन्तित बनाएको छ। नैतिक मामिलासँग जुध्दै आएको यो एजेन्सीले राज्यमा ‘शरीयत’ अर्थात इस्लामीक कानून लागु गर्छ। हस्बासँग भएको एउटा प्रहरी युनिटले सार्वजनिक स्थलमा छुट्टाछुट्टै बस्ने र मदिरामाथि प्रतिबन्ध लगाउने नियम पालना गरे-नगरेको सुनिश्चित गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। विवाहित जोडीको सहयोगका लागि ‘हस्बा’ मा एउटा काउन्सिलिङ सर्भिस (परामर्श सेवा) पनि उपलब्ध छ। महिला प्रायः ‘हस्बा’ को कार्यालयबाहिर लाइन लागेर उभिएका देखिन्छन्। तीमध्ये धेरै आफ्ना पूर्वपतिले छोराछोरीको हेरचाहमा सहयोग नगरेको गुनासो लिएर ‘हस्बा’ पुगेका हुन्छन्।

कानूमा कानूनले तोकेको १८ वर्ष भन्दा पनि कम उमेरमै विवाह गर्छन्। छिटो र धेरै विवाहको कारणमध्ये एक इस्लाममा तलाकको सजिलो तरिका हुनसक्ने बताइन्छ। व्यक्तिले आफ्ना श्रीमतीलाई ‘म तिमिलाई तलाक दिन्छु’ मात्र भनेर वा कागजको टुक्रामा लेखेर वैवाहिक सम्बन्ध समाप्त पार्न सक्छन्। आजकल सामाजिक सञ्जालमा पठाइने एउटा सन्देश मात्र पनि उनीहरुको विवाह टुटाउनका लागि पर्याप्त मानिन्छ। ‘अमीनो दोरावा’ ले कानूमा तलाकको उच्चदरको समस्या हल गर्ने कार्यमा हस्बासँग मिलेर काम गर्दै आएको छ। यो एजेन्सीले मानिसहरुलाई दोस्रो मौका दिइयोस् र उनीहरूलाई वैवाहिक जीवनका लागि सही ढँगले तयार गरियोस् भन्ने सुझाव दिने गरेको छ। उसले ठूलो संख्यामा विवाह आयोजना गर्दै आएको छ, जसलाई ‘ओरेन जवारावा’ को नामले जानिन्छ र यो विशेषगरी सम्बन्धविच्छेद भएका व्यक्तिहरूका लागि हो। सामूहिक विवाहमा जोडीहलाई घर बसाउन सहयोग गर्न केही घरेलु सामान र आर्थिक सहायता दिने गरिन्छ। सन् २०१२ बाट यो कार्यको थालनी भएको थियो।