राजीनामा दिएर नयाँ मार्ग प्रशस्त गर्न ओलीको आग्रह

37

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिएर नयाँ मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’

ओलीले प्रचण्डलाई नेपाली जनताको आवश्यकता र महत्वका आधारमै नयाँ समीकरण बनेको बताउँदै यसले संविधानका नराम्रा पक्षलाई सुधारेर निर्वाचन प्रणालीलाई सापेक्ष बनाएर लैजाने बताएका थिए । जवाफमा प्रचण्डले आफूले संविधानअनुसार ३० दिनभित्रमा विश्वासको मत लिने अडानसहित राजीनामा नदिने बताएका छन् ।

त्यसपछि ओलीले अहिले यो सम्भव हुने कुरा नगर्न प्रचण्डलाई भनेका थिए । त्यसपछि ओली र प्रचण्डको कुराकानी सकिएको थियो। कुराकानी सकेपछि प्रचण्ड तत्कालै आफूले राजीनामा नदिने भन्ने विषयमा जानकारी गराउन राष्ट्रपति भवन निवास शीतल निवास पुगेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूले राजीनामा नदिने र प्रक्रिया अनुसार नै ३० दिनभित्रमा विश्वासको मत लिने जानकारी गराएका छन् । यता ओली भने खाना खाएर गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन जाँदैछन्।

एमाले र कांग्रेसका दोस्रो तहका नेता जेठ मसान्तबाट नयाँ गठबन्धन सरकार बनाउन होमवर्क गरिरहेका थिए । तर, सोमबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेर नयाँ सरकारका लागि तयारी गरिसकेका छन् । ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘हेर्नुहोला म ३० दिनभित्रमा विश्वासको मत लिन्छु र फेरि कम्फर्टेबल सरकार चलाउँछु।’

कांग्रेसबाट ८८ र एमालेबाट ७९ संसदहरूको समर्थनमा केपी ओली प्रधानमन्त्री हुन लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाइ छ ।