काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नै पार्टी सभापति रवि लामिछानेले राजीनामा दिनुपर्ने माग उठेको छ ।
खबरहब डटकम अगाडी लेख्छ, महामन्त्री मुकुल ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएपछि तरंग उत्पन्न भएको छ ।ढकालले उक्त विशेष प्रतिवेदनमा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएपछि पार्टीको आकार पनि घट्दै गएको उल्लेख गरेका छन् ।
जनतालाई पार्टीको नीति र सिद्धान्त बुझाउन नसकेकाले पनि संगठन विस्तारमा थप समस्या भएको उनको निष्कर्ष छ । उनको प्रतिवेदनमा गाउँ-गाउँ र टोलटोलमा सानो आकारको संगठन निर्माण गर्नुपर्ने सुझाव पनि समेटिएको छ । जुन अभ्यास नेकपा एमाले र नेपाली कांग्रेसले गर्दै आएका छन् ।
ढकालले यही अवस्थामा चलिरहे आगामी वि.सं. २०८४ को निर्वाचनमा पार्टीको आकार फैलिनेभन्दा अहिलेभन्दा मसिनो भएर खुम्चिने चेतवानी पनि प्रतिवेदनमा दिएका छन् । ‘केही कुराहरूमा पार्टी सचिएर र सुधारिएर जानु आवश्यक छ। यही तरिकाले हामी ०८४ मा गयौँ भने पार्टीको आकार अहिलेको भन्दा मसिनो हुन सक्छ’, उनको प्रतिवेदनमा भनिएको छ ।
उनीसँगै उपसभापति डा। स्वर्णिम वाग्लेले पनि पार्टीले अब सानो आकारको टोल कमिटी बनाउनुपर्ने बताइसकेका छन् ।
पछिल्लो समय सभापति रवि लामिछाने लामिछानेसँग खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, महामन्त्री मुकुल ढकाल, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, शिक्षामन्त्री सुमना श्रेष्ठ, सांसदहरू सोबिता गौतम, निशा डाँगी र मनिष झा लगायत असन्तुष्ट छन् ।
पोखरा र बुटवलसहितका सहकारीको बचत अपचलन प्रकरणमा मुछिएको भन्दै सभापति लामिछानेले राजीनामा दिनुपर्ने माग पनि उठेको छ । यसका साथै यस प्रकरणको छानबिन अवधिभर लामिछानेले गृहमन्त्रीबाट बाहिरिनुपर्नेसहितका कुरा पनि नेताहरूले उठाइरहेका छन् । यो सामाग्री खबरहबबाट लिएका हौं