सिँचाइ पोखरीले किसानलाई राहत, खुसीसाथ धानको ब्याड राख्दै

14

दाङ : शान्तिनगर गाउँपालिका ५ कासिपुरमा वडा कार्यालयको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि स्थानीयहरू खुशी भएका छन्। खेती गर्ने समयमा पानी नहुँदा निकै समस्या पाएका किसानहरूले पानी पोखरी निर्माण भएपछि धेरै राहत मिलेको बताउँछन्। पोखरी बनाउन वडाको ५ लाख र स्थानीयहरूको श्रमदानको करिब ४० बिगाहा जमिनमा सिँचाइ पुग्ने गरी निर्माण गरिएको छ। बौलाहा खोला नजिककै पोखरी निर्माण गरिएको छ। अहिले पोखरीको पानीबाट गनार क्षेत्रका किसानहरूले धानको ब्याड राख्दै छन्। सिँचाइको लागि कुलाहरू भएयता पनि त्यसमा चैत महिनासम्म मात्र पानी आउँछ। पानी नहुँदा ढिलो धानको ब्याड राख्ने किसानहरूले अहिले पोखरीको पानीबाट राख्न पाउँदा धेरै खुशी लागेको स्थानीय खिमलाल वलीले बताए।

उनका अनुसार पोखरीको पानीको कारण अहिले गनार क्षेत्रमा धानको ब्याड राख्दै गरेको भए तापनि पखाल्ले क्षेत्रमा पक्की कुलो नहुँदा समस्या भइरहेको बताए। उनले भने,‘ पहिला धाराको पानीबाट धानको ब्याड राख्थ्यौँ, तर, पोखरी निर्माण धेरै सहज भएको छ। हाम्रोतिर आउने पानी पक्की कुलो नहुँदा समस्या भएको छ। बर्खामा पनि पक्की कुलो नहुँदा पानी राम्रोसँग नै आउँदैन। अब हामीलाई कुलोको आवश्यक रहेको छ।’ उनी मात्र नभई एक सय बढी किसानहरूलाई पोखरी निर्माण राहत दिने भएको छ। अब धानमा नभई अन्य खेती गर्नको लागि पनि सिँचाइमा सहज हुने स्थानीय हरूको भनाइ छ। पोखरीको पानी जति प्रयोग गरे त्यही आइरहने हुँदा करिब ४० बिगाहा जमिनमा सिँचाइ पुग्ने र एक सय बढी किसानलाई राहत मिल्ने पोखरी निर्माण समितिका अध्यक्ष बालकृष्ण वलीले बताए। पहिला खानेपानी धाराको पानी प्रयोग गरेर धानको ब्याड राख्ने गरेको भएयता पनि अहिले २ बिघाभन्दा बढी खेतमा धानको ब्याड राखिसकेको उनको भनाइ छ।

उनका अनुसार अहिले खोलामा पानी छैन, ‘हाम्रो सिँचाइको आधार भनेको नै खोलाको पानी नै हो। खडेरीका कारण हामीले समयमा कहिँले पनि धानको ब्याड राख्न पाउँदैनथ्यौँ। कि खानेपानी धाराको पानी कि भने अरुको खेतमा राख्नु पर्दथ्यो। त्यही पीडालाई सम्झेर हामीले वडा कार्यालयमा समस्या बताएका थियौँ, वडाले हाम्रो कुरा सुनेर सहयोग गरेपछि पोखरी निर्माण गरिएको हो।’उनले अब यो पोखरी निर्माणसँगै यहाँ किसानहरूलाई अन्य खेती गर्न समेत सहज हुन्छ। अहिले पोखरीको पानी मोटर लगाएर तान्ने गरेको भन्दै उनले २ र ३ घण्टासम्म पानी तान्न मिल्ने र जति पानी तान्यो उति नै पानी आइरहने समेत बताए। यता वडा कार्यालयले भने सिँचाइका कारण किसानहरूले समस्या पाइरहेको जानकारी पाएपछि पोखरी निर्माणको लागि सहयोग गरेको जनाएको छ। वडाध्यक्ष ओपेन्द्र रावतका अनुसार कासिपुर र रजघटुवामा पोखरी निर्माण गरिएको छ। जसबाट सयौँ किसानहरू लाभान्वित भएका छन्।