भारत र पाकिस्तानमा तापक्रम ५० डिग्री नजिक

66
photo स्रोत, GETTY IMAGES

बीबीसी । भारत र पाकिस्तानका कतिपय भागमा केही समय यता चलिरहेको तातो हावाको लहरले दैनिक जीवनलाई असामान्य बनाइरहेको छ। बिहीवार उत्तर भारतमा तापक्रम ४५ डिग्री सेल्सिअसभन्दा माथि पुग्यो भने राजस्थान राज्यको बरमर सहरमा त्यसले ४८.८ डिग्री सेल्सिअस छुन पुग्यो। पाकिस्तानमा पनि पञ्जाब र सिन्ध प्रान्तमा अवस्था खराब रहेको अधिकारीहरूले बताएका छन्।

भारतीयहरू के भन्छन्?
भारतको मौसम विभागले तातो हावाको लहर आउँदो बुधवारसम्म जारी रहन सक्ने जनाएको छ।
ऊर्जा खपत ह्वात्तै बढेपछि कैयौँ क्षेत्रमा पानी र विद्युत् अभाव देखा परेको छ।
बुधवार दिल्लीमा ऊर्जा माग उच्च विन्दु अर्थात् ८ हजार मेगावाट पुग्यो जुन भारतको राजधानीको अहिलेसम्मकै सर्वाधिक हो।
दिल्लीमा यस साताभर ४५-४६ डिग्री सेल्सिअसबीच तापक्रम रहिरहँदा उखरमाउलो गर्मी महसुस गरिएको छ।

जलवायु विज्ञहरूले उच्च आर्द्रताका कारण मानिसहरूले अनुभव गरिरहेको तापक्रम ५० डिग्री नाघेको बताउँछन्।
दिल्लीका अस्पतालहरूमा तापक्रमसँग जोडिएका बिरामीको उपचार गर्ने विशेष सुविधा थपिएका छन्। त्यस्ता विरामीको सङ्ख्या समेत बढिरहेको बताइन्छ।

पाकिस्तानको अवस्था कस्तो छ?

चरम तापक्रमले दक्षिण एशियाको अर्को देश पाकिस्तानमा पनि असर पुर्‍याइरहेको छ।
पाकिस्तानका कतिपय ठाउँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको छ।
पञ्जाब र सिन्ध प्रान्तमा सबैभन्दा बढी असर देखिएको छ।

गर्मीले पाकिस्तानको ग्रामीण क्षेत्रमा पनि असर पारिरहेको छ
पञ्जाबमा निर्धारित समयभन्दा एक हप्ताअघि नै गर्मीको बिदा सुरु हुन लागेको छ।

तर परीक्षालाई भने नियमित अवधिमा नै सञ्चालन गरिने अधिकारीहरूले जनाएका छन्।
मानिसहरूलाई दिनमा सबैभन्दा तातो हुने समयमा घरभन्दा बाहिर ननिस्कन भनिएको छ।