कविता: म बदलिए

62

-राजकुमार लामिछाने प्रिन्स

खेतको आलु कुहाउदै

स्यानो छोरो रुवाँउदै

म गाँउमा समाज परिवर्तन भन्दै हिड्दै थिए

प्रतिगमनका मतियार भन्दै आफ्नैहरुसंग भिड्दै थिए

उता गाँउदेखी केन्द्रसम्मको गेट खुलेछ

संगसंगै महोदयहरुको फ्याट्ट चेत खुलेछ

त्यसपछी त वल्टिङको ठाँउमा पल्टिङ चलेछ

बिमास्थलमै सुनका अन्डा पो फलेछ

लौ के भा भन्दै म डराए ?

के गरेको भनेर कराए ?

महोदयले भन्नू भो

कति कराको ?

किन उग्र भाको ?

कति न खुब सुन्ने जान्ने

न तेरो कुरा हामिले मान्ने

सबैले भने

बाबु

कति कराको ?

किन उग्र भाको ?

त्यसैले यमैले बोल्न छाडिदिए है

महोदय म पनि बदलिए है ।

म बदलिन त

अचेल नारी अस्मिता जोगाउन कराउदा झर्को लाग्छ

न्याय र समनताको कुरा कसैले गर्दा चर्को लाग्छ

बिचार दर्शन सिध्दान्त त मलाइ कुकुरलाइ घिउ जस्तो लाग्छ

सत्य इमान्दारिताको कुरा गर्नेलाइ प्वाक्क दिउ जस्तो लाग्छ

साच्यै म हिजो जस्तो रहिन त

महोदय, हेर्नू त म तपाईं जस्तै भैन त ।

तपाइले लेखेको तपाइले देखेको क्या बात आहा ,

तपाइले बोलेको , लगाएको- खोलेको क्या बेस्ट

प्रयास गर्दैछु अचेल म पनि बन्न तपाइकै कपि पेस्ट

त्यसैले नालिका किराहरुसंगै बसेको छु मज्जा आइरा छ

साच्चै हेर्नू न महोदय , मेरो जुँगा नै तपाइको जस्तो भै रा छ।

मजुदरका कुरा गर्दा गर्दै तिनकै मालिक हुनु

उद्घाटन कार्यक्रम,प्रमुख अथिती आफै, आफ्नै शालिक हुनु

घर , घरको बैठक कोठा, कोठामा कुर्सी, कुर्सिमा म

अनि मलाइ सुसारेले राजा भनेको

कस्तो मज्जा के?

देश बनाउन हिड्दा हिड्दै मै बनेको

महोदय, सुन्नु न अझ के भनु

पुरै तपाईं जस्तै हुन अझ के बनु

झिंगा बनु कि लामखुट्टे

मुहारमा कालै दलौ कि रंग बुट्टे

बिच्छी बनेर डसौ कि

छेपारो जस्तै बसौ

भन्नू न महोदय म के गरौ

उग्र भएर म कराउदिन

छुच्चो भएर यहि म हराउदिन

मलाई पनि यो खेलमा टिक्नु छ

यहि बजारमा महंगोमा बिक्नु छ

तपाइबाट धेरै धेरै सिक्नु छ ।

म त तपाईंकै हावा ,

म तपाइकै फ्यान

म तपाइकै हन्बेर्नो

यो तपाइकै ज्यान

हेर्नुस त म मा परिवर्तन

तपाइकै गरेछु ध्यान

साच्चै महोदय

म बदलिएछु ।

चाँगुनारायण नगरपालिका -६ नगरकोट , भक्तपुर