बालबालिकामा किन बढ्दैछ दीर्घरोगको समस्या?

19

पछिल्लो समय बालबालिकामा दीर्घरोगको समस्या बढ्दै गएको छ। बच्चाहरूको खानपान, आहारमा ध्यान नदिँदा, बसाइको प्याट्रन फरक हुँदा, शारीरिक गतिविधि नहुँदा दीर्घरोग बढेको देखिएको छ। १०, १२, १५ वर्षका बच्चामा पनि श्वासप्रश्वासको समस्या, मधुमेह जस्ता दीर्घरोग धेरै देखिने गरेको छ। कतिपयलाई त जन्मँदै स्वासप्रश्वासमा समस्या देखिने गर्छ। घरभित्रै बसेर टिभी, मोबाइल चलाउने, खाइरहने बच्चामा यस्तो समस्या बढी छ। खेल्ने, कुद्ने उमेरमा घरभित्रै सीमित हुँदा शारीरिक तन्दुरूस्तीमा कमी आउँछ। यसले मोटोपन बढाउने, शरीर सन्तुलित नहुने समस्या देखिन्छ, अनि अन्य रोगलाई प्रश्रय दिन्छ।
विद्यालयमा जंगफुड लैजाने, अतिरिक्त क्रियाकलापमा भाग नलिने, कक्षा कोठाभित्रै सीमित रहने, घरमा फर्किएपछि पनि शारीरिक गतिविधिमा सामेल नहुने बालबालिका दीर्घरोगको निशानामा पर्छन्।

विद्यालयमा जंगफुड लैजान नदिने, क्यान्टिनमा पनि नराख्ने, शरीर चलायमान हुने खालका अतिरिक्त क्रियाकलापमा बालबालिकालाई सहभागी गराइयो भने समस्यामा कमी आउँछ। बच्चाहरू सबै एक ठाउँमा बस्ने, घुलमिल हुनुपर्ने भएकाले विद्यालयमा स्वास्थ्य सचेतना पनि आवश्यक छ। बालबालिकामा डायरिया र निमोनियाको समस्या पनि बढी छ। खानेपानी स्वच्छ नहुँदा डायरियाको समस्या देखिन्छ। पिउनयोग्य पानी चाहिन्छ। उमालेर सेलाएको पिउने गर्दा राम्रो हुन्छ। निमोनियाको कुरा गर्दा पहिले यसविरूद्ध उपचारमात्रै थियो अहिले भ्याक्सिन पनि लगाउन थालिएको छ। मौसम, तापक्रमका कारण बालबालिका बिरामी हुने समस्या त छँदै छ। यसबाहेक ग्रामीण भेगबाट बसाइ सरेर सहर आएका बालबालिकामा रूघाखोकी लागिरहने समस्या पनि अहिले धेरै छ। उनीहरूमा छोटो अवधिमा यस्तो भइरहन्छ। यो सहरीकरण, धुलो, धुवाँका कारण भएको एलर्जी हो। यसलाई बाल दम भन्छौं। पहिले किटाणुका कारण निमोनिया बढी हुन्थ्यो अहिले यो बढी छ। यसले पेट दुख्ने, बान्ता हुने, उमेरअनुसार तौल नबढ्ने समस्या देखिन्छ।