न्यायाधीशहरूको आचरण छानविन गर्न समिति बनाउन माग

26

काठमाडौं : प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरेका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने गरेको बताए।उनले न्यायपालिकाको निर्णय प्रक्रिया कानुनसम्मत र संविधानसम्मत हुनुपर्ने बताए। उनले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताए।

उनले न्यायाधीशहरूको आचरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताए। उनले कैयौँ मुद्दाहरुलाई वर्षौंदेखि पेशी नदिने तर कुनैलाई जबर्जस्ती छिटोभन्दा छिटो फैसला गर्ने गरिएको भन्दै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। उनले भने, ‘न्यायपालिकाको नियुक्तिप्रक्रियादेखि लिएर न्यायप्रणालीपनि पहुँच अनुसार फरक छ। यसले जनताको विश्वास कहाँ लग्छ? जसरी सरकारले पहुँचको आधारमा विभिन्न निर्णय गर्छ। त्यसरी न्यायपालिकाले गर्न थाल्यो भने त्यो न्यायपालिकामा प्रश्न उठ्नु आफैँमा एउटा दुःखद् कुरा हो। व्यक्ति हेरेर व्यक्तिको प्रभावमा त्यहाँको सर्वोच्च अदालतका न्यायाधिशहरुको मोबाइल रेकर्ड मनिटर हुनुपर्छ। कुन नेताको पहुँचको आधारमा, कस्को पहुँचको आधारमा निर्णय प्रभावित हुने गर्छ? म माग गर्न चाहन्छु, न्यायपालिकाबाट निर्णय भइरहेको के आधारमा भइरहेको छ, न्यायाधीशहरुको आचरणको बारेमा एउटा संसदीय छानविन समिति गठन होस्।’उनले न्यायपरिषद्मा धेरै उजुरी पर्ने गरेको भए पनि छानविन नहुने गरेको भन्दै यसतर्फ कानुनमन्त्रीको ध्यानाकर्षण गराए।