मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?

75

मिर्गौलामा पत्थरी हुनु कस्तो समस्या हो?
मिर्गौलामा हुने पत्थरी अहिले ‘कमन’ समस्या हो। मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ। पानीको सेवन कम हुनु, मौसमको प्रभाव, शरीरको मेटाबोलिजम, खानपान, दैनिक क्रियाकलाप कारण कुनैपनि साना-साना कणहरु जम्मा हुँदै गएर पत्थरीको रुप लिने गर्छ। मिर्गौलाको काम भनेको छान्ने नै हो। यो क्रममा मिर्गौलामा जम्मा हुने साना कणहरु नै पत्थरी हुने हो। यसले शरीरमा धेरै असर गर्छ। अहिले युरोलोजी विभागमा उपचारका लागि आउने धेरैजसो बिरामी पत्थरीकै समस्या भएको पाउँछौं।

पत्थरीको समस्या जीवनशैलीसँग सम्बन्धित छ?
पत्थरीको समस्या जीवनशैलीसँग सम्बन्धित समस्या नै हो। खानपानमा ध्यान दिएनौं भने पत्थरी हुने सम्भावना बढी हुन्छ। ‘अक्जालेट’ (खानेकुरामा पाइने रासायनिक यौगिक) धेरै भएका खानेकुराहरु जस्तो गेडागुडी, बदाम, ओख्खर, रायोको साग, डार्क चकलेटहरु, कार्बेनेटेड ड्रिङ्स, हाई प्रोटिन भएको खानेकुरा बढी खाँखा पत्थरी हुने सम्भावना बढी हुन्छ। यस्तै दैनिक साढे २ लिटर पानी खाएको छैन भने पनि पत्थरी हुने सम्भावना अझै बढ्छ। शारीरिक व्यायाम छैन, कुर्सीमा बसेर काम गरिरहने, हलचल छैन खानपान पनि अस्वस्थ छ भनेपनि पत्थरी हुने जोखिम बढी रहन्छ।

पत्थरीको लक्षण भएको कसरी थाहा पाउने? लक्षणहरु पनि देखिन्छ वा स्वास्थ्य परीक्षणपछि मात्र थाहा हुन्छ?
पत्थरी भए/नभएको दुबै तरिकाले पत्ता लाग्छ। पहिलाभन्दा अहिले स्वास्थ्यप्रति मानिसहरु बढी सचेत भइसकेकाले नियमित स्वास्थ्य जाँच पनि गराउँछन्। यस्तो अवस्थामा पनि पत्थरी छ भन्ने समयमा नै पत्ता लाग्छ।यदि मिर्गौलामा पत्थरी छ भने त्यसको लक्षण सबैमा देखिन्छ भन्ने हुँदैन। जसको कारण नियमित स्वास्थ्य जचाउने क्रममा अल्ट्रासाउण्ड गराउँदा पनि पत्थरी भएको पत्ता लागिरहेको हुन्छ। त्यो बाहेक लक्षण लिएर पनि बिरामी आइपुग्ने गर्छ। कोखा दुख्ने, पिसाबमा रगत जाने, बारम्बार पिसाब लागिरहने, पिसाबको संक्रमण हुने, वाकवाक लाग्ने, वान्ता हुने, अत्याधिक ज्वरो आउने र पिसाबमा पनि संक्रमण देखिने, मिर्गौलाको संक्रमण नै भइसकेको अवस्था हुने, मिर्गौला सुन्निएको अवस्था हुने, मिर्गौलामा पिप नै जमिसकेको अवस्था लगायतका लक्षण लिएर उपचारका लागि आउने गरेको अवस्था पनि भेटिन्छ।

पत्थरीको उपचार कस्तो अवस्था गर्नुपर्छ?
पत्थरीको उपचारका लागि पहिला पत्थरी मिर्गौला वा नली कहाँ छ? कस्तो र कुन आकारमा छ? त्यसले शरीरमा कति असर गरेको छ? लगायतका विषय हेरिन्छ। पत्थरीको अवस्था र आकार लगायथ विभिन्न फ्याक्टरहरुलाई एकीकृत गरेर बल्ल उपचार के गर्ने भनेर निक्र्यौल गरिन्छ। मानौं मिर्गौला भित्र ३ वा ५ एमएम सम्मको पत्थरी छ। त्यसले मिर्गौलालाई केही पनि असर गरेको छैन भने यस्ता बिरामीलाई शल्यक्रियामा गइहाल्नुपर्छ वा उपचार गरिहाल्नुपर्छ भन्ने जरुरी छैन। तर नियमित फलोअपमा आएर जँचाइराख्नु भने पर्छ।

मिर्गौलाभन्दा तल पिसाब पास हुने नलीमा अड्किएको छ भने त्यसले गर्दा पिसाब राम्रोसँग पास हुन सक्दैन। जसले गर्दा मिर्गौला सुन्निन सक्छ। शरीरमा संक्रमण हुने, पिसाबको संक्रमण हुने जोखिम रहन्छ। यस्तो पत्थरी पनि कुन आकारको छ भन्ने महत्वपूर्ण हुन्छ। यस्तो अवस्थामा ५ वा ६ एमएम छ भने शल्यक्रिया गरेर निकाल्न नै सुझाउँछौं। किनकी पिसाब नली पनि ५ एमएम जतिको मात्र हुन्छ। विशेषरी पत्थरीको आकार, पत्थरी रहेको स्थान र त्यसले मिर्गौलालाई पुर्‍याएको असरको आधारमा कुन बिरामीलाई औषधि चलाउने कुन बिरामीलाई शल्यक्रियाबाटै पत्थरी निकाल्ने भनेर निर्णय गर्छौं।

कति एमएमसम्मको पत्थरी पिसाबनलीबाटै बाहिर निस्किन सक्छ। कस्तो अवस्थामा औषधि वा सर्जरी गर्नुपर्ने हुन्छ?
५ एमएमभन्दा ठूलो पत्थरीलाई शल्यक्रिया गर्नुपर्छ भन्ने गरिन्छ। तर, त्यो ५ एमएमभन्दा ठूलो पत्थरी कहाँ छ भन्ने कुरा हेर्नुपर्छ। मानौं ७ एमएमको पत्थरी मिर्गौला भित्र छ। तर त्यसले मिर्गौलालाई कुनै असर गरेको छैन भने त्यस्तो अवस्थामा शल्यक्रियामा जानुपर्दैन। तर त्यही पत्थरी पिसाब बाहिरिने नलीमा आएर अड्किएको छ भने त्यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ। सामान्यतया पिसाब नली ५ एमएमसम्मको हुन्छ। यस्तो अवस्थामा ५ एमएम भन्दा सानो आकारसम्मको पत्थरी छ पिसाब नलीमा नै अड्किएको छ भने पिसाब नली अलिकति फुलाउने, नदुख्ने औषधि र पिसाबमा संक्रमण छ भने संक्रमण घटाउने औषधि दिन्छौं। र, पानीको मात्रा बढाएर केही हप्ता हेर्छौं।
यसरी ५ एमएमभन्दा सानो पत्थरी आफैं जानसक्ने सम्भावना ७० देखि ९० प्रतिशतसम्म रहन्छ। त्यो कारण बिरामीलाई चार हप्ता यसरी हेर्छौं। तर चार हप्तासम्म पनि पत्थरी गएन वा यो अवस्थामा पत्थरीको कारण अत्याधिक दुख्यो, संक्रमण बढ्यो, मिर्गौलाको फंसनमा असर पर्‍यो भनेचाहिँ सानै पत्थरी भएपनि निकाल्नुपर्छ। मिर्गौलामा भएको पत्थरी १० एमएमभन्दा सानो छ भने चलाइहाल्नुपर्ने भन्दैनौं। पत्थरी छ तर तत्काल असर देखिएन भनेर शल्यक्रिया नगर्दा पछि जुनसुकै समयमा असर पर्ने जोखिम त रहिरहन्छ होला। बिरामीले त पछि आकस्मिक अवस्था आउन नदिन पहिला नै उपचार गरौं भन्ने सोच राख्छन् होला नि?
बिरामीले त पत्थरी छ भनेपछि शरीरमा राख्न चाहँदैनन् नै। तर, हामी पत्थरीले कति असर गरेको छ भनेर त्यसको जोखिमको अवस्था नहेरी शल्यक्रियामा जाँदै जाँदैनौं। मानौं कुनै बिरामीको मिर्गौलामा ८ एमएमको पत्थरी छ तर बिरामीलाई थाहा हुँदैन यसको असर के हुनसक्छ। यस्तो अवस्थामा हामीले बिरामीलाई काउन्सिलिङ गर्छौं। यदि मिर्गौलालाई वा शरीरलाई कुनै समस्या छैन भने तत्काल केही गर्न पर्दैन तर प्रत्येक तीन वा ६ महिनामा नियमित अल्ट्रासाउण्ड गराएर त्यो पत्थरी कति बढ्यो वा घट्यो? कति असर गरिरहेको छ भनेर नियमित जाँच गराउनु भन्छौं।

त्यो पत्थरीले असर पुर्‍याएको अवस्थामा देखिने लक्षणबारे जानकारी गराउछौं। जस्तो पत्थरी मिर्गौलाबाट तल सरेमा कोखा दुख्नसक्छ, वाक-वाकी लाग्ने, वान्ता हुने, पिसाबमा रगत जाने हुनसक्छ। यस्ता समस्या भएमा तुरुन्त जाँच गराएर हेर्नुपर्छ भनेर सुझाव दिन्छौं। सानो पत्थरीले तीन महिनाभित्र नै मिर्गौला बिर्गाछ भन्ने चाहिँ हुँदैन। यदी मिर्गौला बिगारेमा लक्षण देखिन्छ। तर पत्थरी नै ठूलो छ भने त्यो साइलेन्ट स्टोन डरलाग्दो हुनसक्छ। कहिलेकाहिँ बिरामीको मिर्गौला नै टालेर बसेको ठूलो पत्थरी हुन्छ। बिारमीलाई दुख्दैन पनि तर मिर्गौला बिग्रिएपछि मात्र थाहा हुन्छ। यस्तो अवस्थामा बिरामी आफैं सचेत हुनुपर्छ। वर्षमा एकपटक मिर्गौला परीक्षण गराउनुपर्छ। तर सानो आकारको पत्थरीमा ‘वेट एण्ड वाच’ गरौं भन्दा बिरामी आत्तिहाल्नुपर्ने भने हुँदैन। तीन महिना नै मिर्गौला बिग्रिहाल्ने हुँदैन। बिदेश यात्रामा जान लाग्नुभएको छ वा बिदेशमा बस्नुहुन्छ भने चाँही नियमित जचाउन नपाउदा बिदेश गएपछि समस्या आउनसक्छ। यस्तो अवस्थामा पत्थरी निकालेर जान पनि सकिन्छ। अहिले पत्थरी निकाल्ने विभिन्न प्रविधिहरु आइसकेको छ। शरीरमा कुनै घाउचोट नलगाई पनि पत्थरी निकाल्न सकिन्छ।