बाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भई बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मा २१ वर्षीया श्रीमती सुशीला सुनारको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार श्रीमानश्रीमतीका बीचमा विवाद हुँदा अनिलले श्रीमती सुशीलालाई सोमबार राति ढाडमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारपछि घाइते श्रीमतीको उपचारका लागि अनिल आफैंले राति नै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएका थिए। तर त्यहाँ पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसपछि श्रीमतीको हत्या आरोपी अनिललाई प्रहरीले पक्राउ गरेको थियो। ‘घाइतेको मृत्यु भइसकेपछि हामीलाई अस्पतालबाट राति १ बजेतिर खबर आएको थियो,’ इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले भने, ‘त्यसपछि हामीले हत्या आरोपितलाई अस्पतालमै गई नियन्त्रणमा लिएका हौं।’प्रहरी निरीक्षक भट्टराईका अनुसार अनिल र सुशीलाले पाँच महिना पहिलेमात्रै विवाह गरेका थिए। विवाहपछि उनीहरू कोहलपुर– १४ स्थित पार्वतीपुरको बागेश्वरी हिम पाइप उद्योगमा बसेर काम गर्दै आएका थिए। सुशीलाको हत्या उद्योगभित्रैको क्वाटरमा भएको थियो। अनिल र सुशीलाका बीचमा चार सय रुपैयाँको निहुँमा झगडा भएको थियो।