Saturday, October 3, 2026
Home समाचार हेम्जामा आलु महोत्सवको तयारी तीव्र

हेम्जामा आलु महोत्सवको तयारी तीव्र

50

पर्वत : विष्णु पादुका क्लब पोखरा २५ हेम्जाको आयोजनामा हुन लागेको १२ औँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तीव्र पारिएको छ। यही चैतको २५ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको छ। मूल आयोजक समितिका महासचिव वसन्त कुमार श्रेष्ठका अनुसार महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो। ‘सुन्दर ठाउँ हेम्जा जाऊँ आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो।

महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबिच अन्तरक्रिया, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङ्ग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन्। महोत्सवमा आलुबाट बनेका विभिन्न परिकारहरू कबाब, रोस्ट, रोटी, स्टार्ट पोट्याटो, साँधेको आलु, आलुको पकौडा, सेकेको आलु, आलुको बर्गर, अचारलगायतका परिकार खान पाइन्छ।ोभिड–१९ का कारण बिचमा तीन वर्ष रोकिएको महोत्सवलाई गत वर्षदेखि क्लबले निरन्तरता दिएको हो। यस वर्ष महोत्सवमा करिब ५० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ। यो आलु महोत्सव २०६६ सालदेखि आयोजना गर्न सुरु गरिएको थियो। समुद्री सतहदेखि एक हजार ८८ मिटरको उचाइमा रहेको हेमजाको कुल क्षेत्रफल १२ हजार पाँच सय हेक्टरमध्ये करिब पाँच सय ५० हेक्टरमा आलु खेती हुँदै आएको छ। हेमजाका करिब सबै बासिन्दा कृषिमा आधारित छन् भने उनीहरू सबैले आलु खेती गर्दै आएका छन्। हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीको बृहत् प्रदर्शन तथा प्रचारप्रसार गर्ने, व्यावसायिक कृषि पर्यटनका रूपमा देश–विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने लगायतका उद्देश्य राख्ने गरिएको छ।