नयाँ वर्षमा ‘फिल्म डिग्री माइला’ ट्रेलर हेर्नुहोस्

126

काठमाडौं ।
आगामी नयाँ वर्ष अर्थात् चैत ३० गतेदेखि प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ४ मिनेट लम्बाईको ट्रेलरमा एमए पास गरेर गाउँ फर्किएको माइला पात्र दयाहाङ राईको अहंकार र त्यसले उत्पन्न परिस्थितिलाई देखाइएको छ । दयाहाङका केही पञ्चलाइन रोचक छन् ।

गाउँको कलेजमा अंग्रेजी शिक्षक नहुँदा कलेज नै खारेजी हुने अवस्थामा पुगेपछि अंग्रेजीमा एमए गरेको माइला पात्रलाई जागिरको प्रस्ताव गरिन्छ । तर, उसले अहंकार देखाउँछ । त्यसपछि उसलाई कलेजमा ल्याउन भएको रस्साकस्सीलाई ट्रेलरमा रोचक ढंगले बुनिएको छ । दयाहाङको चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । उनको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा भने आँचल शर्मा छिन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको फिल्ममा शिवराम श्रेष्ठ र रिले एच। शेनको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।

‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबु गुरुङले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरुप दिएका हुन् । सार्वजनिक टिजरमा ऋचा शर्मा पनि देखिएकी छन् । उनी शिक्षा अधिकारीको भूमिकामा हुनसक्ने बुझिन्छ ।