काठमाडौं । नेपालमा दुई दिन होली पर्व मनाइन्छ । पहाडी समुदायले भोली आइतबार र तराईमा पर्सी सोमबार होली मनाइन्छ । होलीको आफ्नै धार्मीक मान्यता र विश्वास रहेको छ ।
कुन रंग लगाउने कसरी खेल्ने ?
हामीले होली खेल्दा सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउडरका रूपमा हुन्छन्। जसको गन्ध छैन, यस्तो रङ चलाउनु राम्रो हुन्छ।
हामीले प्रयोग नै गर्न नहुने रङहरू धेरै छन्। जसले शरीरलाई हानी गर्छन्। टल्किने खालको रङ, कालो रङ र झोलवाला रङले शरीरलाई धेरै नै असर गर्छ। कालो रङमा लेड अक्साइड, रातो रङमा मर्करी मिसाएको हुन्छ भने हरियोमा कपरसल्फेट हुन्छ। टल्किने रङ सबैभन्दा हानिकारक हुन्छ। यस्ता रङमा माइका, सिलिकाजस्ता ‘केमिकल’ को प्रयोग धेरै गरिएको हुन्छ।
केही गरी छालामा पहिले नै घाउ भएको छ भने रगतको माध्यमबाट भित्र छिरेर कलेजो लगायतका अंगलाई नै असर पार्न सक्छ। त्योबाहेक छालामा एलर्जीको समस्या हुन्छ। यसले प्रत्येक वर्ष बढी अनुपातमा लक्षण देखिन्छ। धेरै ‘केमिकल’ प्रयोग गरिएका रङको प्रयोग गर्नाले छालामा असर गर्नुका साथै केहीगरी शरीरभित्र पसे श्वासप्रश्वास, किड्नी, ब्रेन, न्युरोलोजीसम्बन्धी समस्यासमेत देखिन सक्छ।
यस्तै रङ जथाभाबी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।होलीमा प्रयोग हुने रंगले हाम्रो छालामा सबैभन्दा पहिला त लगाउने बित्तिकै इचिङ हुने अर्थात चिलाउने, पोल्ने जस्ता समस्याहरु देखिन्छ । त्यसपछि रंग लगाएको ठाउँमा छाला रातो हुने, कहिलेकाहीं धोएपछि पनि रातो हुने, डाबर आउने जस्ता समस्याहरु देखिन्छन् । यसलाई एलर्जी कन्ट्याक्ट डर्माटाइसिस भनिन्छ । यो कहिलेकाहिं रंग लगाएकै दिन तुरुन्तै पनि हुनसक्छ, कहिलेकाहिं भोलिपल्ट, पर्सिपल्ट पनि डाबरहरु बढ्दै जाने पनि हुनसक्छ । यसले छाला संग(संगै कपाललाई पनि रुखो बनाउने, सुख्खा बनाउने, आँखा पनि पोल्न सक्ने समस्या हुनसक्छ ।
त्यो संग–संगै अहिले त कतिपय ठाउँमा फोहोर पानीहरु, कुहिएको अण्डाहरु, बिग्रिएको तरकारी जस्तै टमाटरहरुले पनि होली खेल्ने चलन छ । त्यसले छालामा बिकारहरु जस्तै इन्फेक्सनहरु गराउने, फोलिकलाइटिस गराउनेसम्मका असरहरु पनि देखिन सक्छन् ।
होलीमा छालाको सुरक्षाका लागि के चाहिन्छ ?
यसका लागि त होली खेल्दा पुरा बाहुला लुगा लगाउने, चर्को घाममा ननिस्कने, सकेसम्म आफन्तहरुबीच मात्रै होली खेल्ने, रंगहरु लगाउँदा पनि थोरै मात्र लगाएर धेरै समयसम्ममा छालाको कन्ट्याक्टमा बस्न नदिने अर्थात चाँडै पखाल्ने, पखाल्दा माइल्ड खालको साबुन प्रयोग गर्ने, माइल्ड खालको फेसवासहरु सफा गर्ने र अन्त्यमा मोइश्चराइजर प्रयोग गर्नु राम्रो हुन्छ ।














