५ महिनामा १७ हजार दुर्घटना, ९ सयको मृत्यु

25

काठमाडौँ । एक्कासि आइपरेको बज्रपातको खबरले सिस्ने गाउँपालिका–६ रुमालबाराकी रश्मी परियारलाई संसारै खसेजस्तो भएको छ । गत सोमबार साँझ ५ बजेतिर बागलुङको निसीखोला–६ जाउलेपानीमा रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनामध्ये एक थिए उनका छोरा विक्रम परियार ।

६ वर्षयता रुकुम पूर्वमा सक्रिय पत्रकारको परिचय बनाएका विक्रमको देहान्तपछि परिवार, आफन्त र सहकर्मी गहिरो शोकमा छन् । १० वर्षअघि ०७० चैत ३ गते बुबा रञ्जितको मृत्युपछि परिवारको भरोसा रहेका विक्रमको मृत्युले बज्रपात भएको आमा रश्मीले बताइन् । ‘घरको एउटा बलियो खाँबो गर्ल्याम्म ढल्यो,’ उनले भनिन् ।

पत्रकार महासंघ रुकुम पूर्वका सहसचिव विक्रम अन्नपूर्ण पोस्ट, हिमालय टेलिभिजन र इन्सेकका जिल्ला प्रतिनिधि थिए । ‘जेठो छोरा परिवारसहित दाङतिर बस्छ । घरमा कान्छो र म मात्रै बस्थ्यौं । ऊ गएपछि म एक्लै यो घरमा कसरी बसौं,’ रश्मीले भनिन्, ‘काठमान्डू जान्छु भनेर घरबाट निस्किएको छोरो अब फर्किन्न भनेर कसरी पत्याऊँ । आमै भन्दै बोलाइहाल्छ कि भन्ने लागिरहन्छ ।’ विक्रमको किरिया बसेका दाइ अमृत भाइको लगनशीलता र मिहिनेतबारे सम्झिँदै भक्कानिइरहेका छन् ।

‘मैले त पढ्न पाइनँ तर भाइले आफ्नै मिहिनेतले पढ्यो । अब बीए पढ्छु भन्थ्यो, मैले पनि सकेको गरौँला भनेको थिएँ । नफर्किने गरी गयो,’ अमृत भक्कानिँदै भन्छन् । विक्रमसँगै काम गरेका पत्रकार जयमान बुढाले आफूलाई रित्तो–रित्तो लागिरहेको बताए । राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय अधिवेशनमा सहभागी हुन विक्रम सोमबार दिउँसो २ बजेतिर रुकुमकोटबाट काठमाडौंका लागि बस चढेका थिए । रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला–६ जाउलेपानीमा भीरबाट खस्दा ९ जनाको ज्यान गएको थियो ।

-यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।