करेन्टले दुवै हात गुमाएका श्याम भन्छन्– गरिखाने सीप र क्षमता त छ नि!

36

फागुन १७ गते २६ वर्षीय श्याम तेलीलाई दिउँसै पनि अन्धकार भएझैं लाग्यो। उनले आफ्ना हातबाहेक अरू कुनै दृश्य देखेका नै थिएनन्। अप्रेसन रूममा लैजाँदै गर्दा आफ्ना दुई हात नियाली मात्र रहे।उनले आफ्ना दुवै हातका औंलाहरू चलाउन प्रयास गर्थे तर चल्दैन थिए। तेलीलाई आफ्नो हात पूर्णरूपमा सग्लो देख्न पाउने अन्तिम दिन यही मात्र हो जस्तो लागिरह्यो। संभवतः त्यही भएर हो अप्रेशन कक्षमा लैजाँदै गर्दा उनी अर्धबेहोस जस्तै भए। अप्रेसन कक्षभित्र बेहोस बनाइनु भन्दा अघिसम्म हात चलिहाले काट्नुपर्दैन भन्ने लागिरहेको थियो,’ श्यामले सुनाए, ‘आफूलाई लागेको र चाहेको जस्तो नहुने रहेछ।’ तीन/चार घन्टापछि होसमा आउँदा उनको कुहिनेभन्दा तलको भाग काटिएको थियो। त्यसपछि श्यामले आफ्ना हात नियालेर हेरेका छैनन्। उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। हात जोगाउन सकिन्छ कि भनेर नौ दिनसम्म निगरानी र विभिन्न उपचार भयो, तर अन्तिममा ज्यानै जाने खतरा देखेपछि चिकित्सकले हात काट्नु पर्ने निष्कर्ष निकाले उनले सुनाए। यही एउटा घटनाले उनको जिन्दगी बदलियो। फागुन ८ गते,उनलाई त्यो दिन के भयो कसरी भयो प्रष्ट याद छ। उनले घटनाक्रम बिस्तारै सुनाए। उनी सधैझैं १० बजेतिर खाना खाएर कामका लागि निस्किएका थिए। उनी अघिल्लो दिनदेखि छिमेकीको घरमा रेलिङको काम गर्दै आएका थिए।

तेली रूपन्देही ओमसतिया गाउँपालिका–६ का हुन्। उनका अनुसार छिमेकीले फलामको रड चोरिने डरले घरको छतमा राखेका रहेछन्। घर एक तले थियो। आफैं रड निकाल्न उनी छतमा पुगे। त्यहाँ पुगेर पहिलो रड निकाल्न खोज्दै थिए। एक्कासि करेन्टले झट्का हान्यो। घर अगाडि साघुँरो सडक छ। सडक छेउमा पोल गाडिएको छ। पोलमा ३३ हजार भोल्टको करेन्टको तार टाँगिएको छ। रडले तारमा छोयो कि छोएन उनलाई हेक्का छैन। करेन्टले झट्का हानेको मात्र याद छ।‘एक्कासी करेन्ट लाग्यो, रड पग्लिएर बीच भाग बाँचियो अनि छतबाट भुइँमा फालिदियो,’ उनले भने, ‘रड पग्लिएर नभाँचिएको भए म बाँच्ने थिइनँ। उनलाई छतबाट खसेको अलिअलि याद छ। भुइँमा बजारिँदा उनको टाउको र नाकमा चोट लाग्यो। मानिसहरू तुरून्तै जम्मा भए। बेसार र दूधको खोजीमा लागे। आफन्तहरूले दूधमा बेसार घोलेर खुवाएको अलिअलि सम्झना छ। उनको गाउँघरतिर करेन्ट लाग्दा दूध– बेसार खुवाउँछन्। त्यसपश्चात् आफूलाई एम्बुलेन्समा राखेर लगेको पनि उनलाई थाहा छ। त्यतिबेला उनलाई शरीर अत्यन्त पोलेको थियो। बेहोसीमै उनले बर्बराइरहेका थिए। त्यस्तो अवस्थामा पनि उनी आफूलाई बचाउन आग्रह गरिरहन्थे। उनलाई त त्यो कुराको खासै सम्झना छैन। तर आफन्तले उनलाई पछि सुनाएका थिए। करेन्ट लागेको केही समयमै हातका औंलादेखि नाडीसम्मको भाग पूरो कालो भइसकेको थियो।

उनलाई सुरूमा भैरहवा मेडिकल कलेजमा उपरारार्थ पुर्‍याइयो। त्यहाँ २४ घन्टा राखियो। हातको शल्यक्रिया भयो। रक्तचाप बढेको थियो। त्यसलाई नियन्त्रण गर्न हात चिर्नुपरेको उनको भनाइ छ।
उनको अवस्था देखेर चिकित्सकहरू पनि अलमलमा परेका थिए। जलेका बिरामीको उपचारका लागि कीर्तिपुर अस्पताल राम्रो हुन्छ भन्ने चिकित्सकै मुखबाट सुनेपछि उनले आमा अनिता तेलीलाई त्यहीँ लैजान भने। फागुन ९ गते साँझ एम्बुलेन्समार्फत् उनलाई काठमाडौं ल्याइएको हो। कीर्तिपुर अस्पतालले पनि उनलाई एकसातासम्म निगरानीमा राख्यो। अनेक जाँचपड्ताल गर्‍यो। नाडीको भित्री भागसम्मै कालो भइसकेको थियो। संक्रमण फैलने र त्यसले ज्यानैसमेत जोखिममा पार्ने हुनाले हात काट्नुपरेको उनले बताए।

‘हात काट्नुपर्छ भन्दा डर लाग्यो। नकाटे शरीरभरि संक्रमण फैलिने र मृत्यु पनि हुनुसक्ने भनेपछि राजी भएँ,’ उनले भने, ‘हात नभए पनि बाँच्न सकिन्छ भनेर चिकित्सकले काउन्सिलिङ गरे।’ ागुन १७ गते पहिलोपटक नाडीसम्मको भाग काटिएको थियो। फागुन २६ गते पुन दोस्रो पटक अप्रेसन गरेर कुहिनाभन्दा मुनीसम्मै काट्नुपर्‍यो। संक्रमण फैलिँदै गएकाले थप भाप पनि काट्नुपरेको उनको भनाइ छ। एकसातपछि पुनः जाँचपड्ताल हुन्छ। कथम् संक्रमण फैलिएको पाइएमा कुहिनासम्मकै भाग काट्नुपर्ने चिकित्सकले बताइरहेका छन्। थप भाग नै काट्पर्ने गरी उनले मनस्थितिलाई बलियो बनाएका छन्। ‘बाँच्नु परिहाल्यो!,’ उनी फिस्स हाँस्दै भन्छन्।