भक्तपुर । मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः ताहाननी प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा पञ्चरंगी भजन खलः र कुतिंचिवा भजन खलःद्धारा संयुक्तरुपमा शुक्रवार आयोजित प्रतियोगितामा ताहाननी प्रथम भएको हो । ताहाननीले नगद २५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा बालकुमारी भजन खलः (आइतवार)ले द्धितिय स्थान हासिल गरे । बालकुमारीले नगद १५ हजार पुरस्कार हात पारे ।यसैगरी पलिस्था पुचः मरुटोल तृतिय र नवदुर्गा भजन मण्डल गठ्ठाघरले सान्त्वना पुरस्कार प्राप्त गरे । पलिस्थाले नगद १० हजार र नवदुर्गाले नगद २ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा विजयी भजन खलःलाई पुरस्कृत गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि ऐतिहासिक मात्र नभई मुर्त अमुर्त सम्पदाको खानीले भरीपूर्ण शहर भएको बताउनुभयो । उहाँले स्थानीय स्तरमा स्थानीय जनसमूदायको पहलमा भजनको संरक्षण र पुस्तान्तरण गर्दै काठमाण्डौं उपत्यकामै मध्यपुर थिमिमा भजनलाई जिवन्त राख्न सफल भएको चर्चा गर्दै अब यसलाई थप संरक्षणका लागि नगरपालिकाले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले नगरभित्रका दाफा भजन, नित्य भजनलगायत विभिन्न भजनको अवस्था के छ भनी नगरपालिकाले विज्ञसहितको एक समिति नै गठन गरी अध्ययन गर्ने संरक्षणको लागि थप नीति निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले अर्को वर्षदेखी नगरपालिकानै यसलाई आयोजना गर्ने घोषणा समेत गर्नुभयो ।
प्रतियोगितामा विभिन्न १९ वटा समूहको सहभागिता रहेको थियो । आयोजकका अनुसार नवदुर्गा भजन मण्डल गठ्ठाघर, निगुपुखु भजन खलः निगुपुखु, श्रीकृष्ण भजन खलः पाचो, नित्य भजन खलः (बिहान) बालकुमारी, दुवाफल्चा भजन खलः दुवाफल्चा, पलिस्था पुचः मरुटोल, निलबाराही भजन खलः टिगनी, करुणामय भजन खलः तुलननी, विश्वविनायक भजन खलः चपाचो, बालकुमारी भजन खलः (आइतवार) बालकुमारीको सहभागिता रहेको थियो ।
यसैगरी निलवर्ण भजन खलः बोडे, पूर्णिमा भजन हुलाकरोड, ताहाननी भजन खलः ताहाननी, दिव्य सत्सङ्ग भजन खलः चंखु, शिव भजन मण्डल हुलाकरोड, वाचुननी भजन खलः वाचुननी, सूर्यविनायक भजन खलः पोबु, मञ्जुश्री भजन खलः गुंगचिवा र पिठुगणेश भजन खलः तछुटोलले पनि प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकगायक रत्न बेहोशी बज्राचार्य, गायिका लोचन भट्टराई र गायिका संगिता शाक्य रहनुभएको थियो ।