काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रतिवेदनमा रहेको एउटा लाइन शब्दले पार्टीभित्र मात्रै होइन अन्य गठबन्धनमा रहेका पार्टीभित्र समेत हलचल हुने भएको छ । थापाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने संकल्प महासमितिको बैठकबाट गरेर जानुपर्ने प्रस्ताव प्रतिवेदनमा राखेका छन् । पार्टीभित्रका आफु निकट नेताहरुसंग कुरा गर्दापनि महामन्त्री थापाले आगामी निर्वाचन कांग्रेस ‘एक्लै लड्नु’ पर्ने भनाई राख्दै आएका छन् ।
महामन्त्री थापासहित डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरू चुनावमा गठबन्धन गर्न नहुने पक्षमा छन् । गएको निर्वाचनमा पनि उनीहरू गठबन्धनको विपक्षमा उभिएका थिए । गठबन्धनले गर्दा पार्टीभित्र निरासा फैलिएको पार्टी संगठनमा झनै गुटबन्दी मौलाएको कांग्रेसका नेताहरुको भनाई रहदैं आएको छ ।
थापाले प्रतिवेदनमा नै गठबन्धन नगर्ने कुरा लेखेपछि महासमितिको बैठकअघि कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासहित शीर्ष नेताहरूसँग छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।
देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमाथि छलफल भएपनि निचोड आइसकेको छैन् ।
देउवाले चुवानमा गठबन्धन गरेर नजाने भन्ने शब्द हटाउन भनेपछि महामन्त्री थापाले आफूले फरक मत ल्याउने चेतावनी दिएका थिए । तर, शनिवारदेखि निरन्तर भएको छलफलपछि बैठकमा साझा प्रस्ताव ल्याउने तयारी भइरहेको छ । सभापति देउवासहित संस्थापन पक्षका नेताहरू निर्वाचन रणनीतिक हुने भएकाले अहिले घोषणा गरेर जान नहुने पक्षमा उभिएका छन् । यदि कांग्रेसको महासमिति बैठकले नै गठबन्धन नर्गर्ने निर्णय पारित गर्यो गने वर्तमान प्रचण्ड नेतृत्वको सरकारको भविष्य समेत संकटमा हुने देखिन्छ ।