भारतमा फेरि किसान आन्दोलन, हजारौँ प्रदर्शनकारी दिल्लीतर्फ अघि बढ्दै

47

बीबीसी नेपाली सेवा । भारतमा आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने मागसहित विभिन्न राज्यका किसानहरू प्रदर्शन गर्दै दिल्लीतिर अघि बढेका छन्। उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए। त्यस बेला उनीहरूले एउटा विवादित कृषि कानुनको विरोध गरेका थिए।

झन्डै एक वर्ष चलेको उक्त आन्दोलनमा कैयौँ सहभागीको ज्यान गएको थियो। सरकारले विवादित कानुन फिर्ता लिएपछि बल्ल किसानहरूले आन्दोलन फिर्ता लिएका थिए। अहिले किसानहरू पुनः आफ्ना माग पूरा नभएको भन्दै सडकमा आएका हुन्। प्रहरीले हरियाणा र पन्जाबको सीमामा प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहर गरेको थियो। विरोधप्रदर्शन गर्न हिँडेका अधिकांश किसान पन्जाब प्रान्तका हुन्। उनीहरूले शान्तिपूर्वक हरियाणा हुँदै दिल्ली जान खोजेको तर आफूहरूलाई त्यसो गर्न नदिइएको बताएका छन्।

शम्भु सीमामा प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएको विवरण प्राप्त भएको छ। त्यहाँको अवस्था तनावपूर्ण रहेको बताइएको छ। किसानहरूले आफ्नो माग पूरा नहुन्जेल दिल्लीमा प्रदर्शन गर्ने बताएका छन्। आन्दोलन टुङ्ग्याएको दुई वर्षपछि भारतीय किसानहरू कृषि उपजले निश्चित मूल्य र बजार पाउनुपर्ने माग राख्दै फेरि सडकमा आएका छन्।

हजारौँ किसानहरू सडकमा विरोधप्रदर्शन गर्दै राजधानी दिल्लीतिर अघि बढिरहेका छन्। उनीहरूलाई दिल्लीभित्र प्रवेश गर्न नदिन सुरक्षाकर्मीहरूले दिल्लीवरिपरिका सीमानाकाहरू बन्द गरेका छन् भने ठाउँठाउँमा काँडेतार राखेका छन्। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले ड्रोनबाट अश्रुग्यास पनि प्रहार गरेको छ।