बरगाछी चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु ;आक्रोशित भीडले जलायो ट्रक

45

विराटनगर : विराटनगरस्थित बरगाछी चोकमा ट्रकको ठक्करबाट एकजना स्कुटर चालकको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६प२८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन्। आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ।दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ। भने आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि केहीबेर कोशी लोकमार्ग अवरुद्ध बनेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी छेदीलाल कामती,वडा प्रहरी कार्यालयबाट डीएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्सपेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले लोकमार्ग खुलाएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।