प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

19

काठमाडौं । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ । ‘कर्तव्य पालनाको सिलसिलामा गाडीको पछाडिबाट लडेर उहाँको मृत्यु भएको हो’, उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले भने, ‘तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएको थियो, चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे ।’ प्रहरीले एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।