स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चारजना ललितपुरबाट पक्राउ

45

काठमाडौं : छुट्टाछुट्टै स्थानमा स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका-७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले रहेका छन् ।ललितपुर महानगरपालिका-१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका-१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूउपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यसैगरी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२-०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका-३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन्। उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ।