मण्डलामा मञ्चन हुँदै ‘मासिन्या’ नाटक

24

काठमाडौं : यहाँको थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ। माघ २८ सम्म मञ्चन हुने नाटक कविहरु राजु स्याङतान, लक्ष्मी रुम्बा र रामबहादुर तामाङ ‘राबत’ले लेखेका हुन्। निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ,सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारहरुको अभिनय रहेको छ। नाटक ‘मासिन्या’आज माघ ११ गतेदेखि माघ २८ गतेसम्म मण्डला थिएटर नयाँ बानेश्वर, थापागाउँमा सोमबारबाहेक प्रत्येक दिन साझ ५:०० बजे प्रदर्शन हुनेछ। शनिबार दिउँसो १:०० बजे पनि प्रदर्शन हुने लेखक स्याङतानले बताए। तामाङ समुदायलाई राज्यसत्ताद्वारा विगतमा गरेको विभेदका कारण परेको प्रभाव उजागर गरिएकोले नाटक सबैले हेर्नुपर्ने लेखक स्याङ्तानको भनाइ छ। ‘मासिन्या’ले जङ्गबहादुरको समयदेखि अहिलेसम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिँदै गएको छ भन्ने कथा बोक्ने उनले बताए। समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा समूहको पहिलो प्रयास भएको बताउँदै अर्का लेखक रुम्बाले तामाङको मात्र नभएर नाटकले समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सिमान्त्कृत समुदायको कथा नाटकले व्यक्त गर्ने बताइन्। नाटकका परिकल्पनाकार एवं निर्देशक सोनाम लामाले हिजो गरिएको प्रिमियर सोका दर्शकबाट पाएको सुझाव समेटर नाटकलाई उत्कृष्ट रुपमा पस्कने तयारी गरेको बताए।