बालकुमारी घटना : सरकार र मृतकका परिवारबीच चारबुँदे सहमति

43
सांकेतिक तस्विर

काठमाडौँ : सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका मृतकका परिवारबीच चारबुँदे सहमति भएको छ।गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारबीच आज (सोमवार) भएको छलफलपछि चारबुँदे सहमति भएको हो। सरकारका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन्। सहमति अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्का सांसद दीपकुमारी शर्माको रोहबरमा गरिएको हो।

मृतकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेको थियो। त्यसबाहेक मृतक परिवारका सदस्य १/१ जनालाई रोजगारी दिने निर्णय पनि भएको छ। सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने सहमति पनि दुई पक्षबीच भएको छ। दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने सहमति पनि भएको छ। शव सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ। गत शुक्रवार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा २ जनाको मृत्यु भएको थियो। झडपमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।