काठमाडौं : कास्कीमा श्रीमतीलाई जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्ती छन्।
घर्तीले बिहीबार दिउँसो २८ वर्षीया श्रीमती रेखा घर्तीलाई पोखरा नौबीसे चोकस्थित तोरी बारीमा लगेर जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेका थिए। हत्या गरिएकी रेखा रत्नकी कान्छी श्रीमती हुन्। उनीतर्फका दुईवटा बच्चा पनि छन्। पछिल्लो समय श्रीमान-श्रीमतीबीचको पारिवारिक सम्बन्ध राम्रो नरहेको प्रहरीले जनाएको छ। सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो। अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेको चाल पाएपछि रत्नले उनलाई लखेट्दै तोरीबारीमा लगेर हत्या गरेको बताइएको छ। हत्या हुँदा धेरै बेर नलागेको र प्रेमी भनिएको केटालाई चाहिँ भेट्टाउन नसकेको बताइएको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।