एसईईका परीक्षार्थीलाई अभिमुखीकरण सम्पन्न, यो वर्षदेखि उर्तिण हुन ३५ प्रतिशत अंक अनिवार्य

38

भक्तपुर । संस्थागत विद्यालयहरुको संस्था नेसनल प्याव्सन भक्तपुरले यो शैक्षिक वर्षको एसईइ परिक्षामा सम्मिलित हुने आफ्ना विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एक दिवसीय अभिमुखीकरण कार्यक्रममा कक्षा १० विद्यार्र्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि अभिमुखीकरण दिइएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीहरुले यो सालदेखि एसईईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउने प्रणालीलागू भएको जानकारी दिए । उनले विद्यार्र्थीले पढ्नु र सिक्नु कार्यलाई सधै निरन्तरता दिनु पर्ने बताए ।
अभिमुखीकरण कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. तारा प्रसाद गिरीले भविष्य बनाउने समय नै अहिले स्कुल जीवनमा नै हो भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिड्ने व्यक्ति सफल हुने बताए । गिरीले आजको समयलाई सहि सदुपयोग गर्दै जीवनपयोगी उत्प्रेरणा जोड्न, पढ्ने र सिक्ने समयलाई कहिल्यै अन्यन्त्र खेर नफाल्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
कोभिड पछि विद्यार्थीहरुको सिक्ने र पढ्ने जाँगरमा ह्रास आएको र तत्कालिन अक्षराकं प्रणालीको कारण नपढे नि उत्तीर्ण भइनेछ भन्ने विद्यार्थी र अभिभावकहरु भ्रममा रहेकाले पनि विद्यार्थी तथा अभिभावकहरुलाई परीक्षा विशेष एवं सिकाईमा सहभागिता सम्बन्धि यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले जानकारी दिए ।
कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक अर्जुन बहादुर रायमाझी, नेसनल प्याव्सन केन्द्रीय सदस्य जिबि खड्कालगायको उपस्थिती रहेको थियो ।