‘रिस्क डेलिभरी’ गर्भवतीका लागि निःशुल्क ‘आमा घर’

12

पर्वत : सुत्केरी हुने बेलाको अवस्थामा उच्च रक्तचाप हुनु, मधुमेहबाट ग्रसित हुनु, आमाको उमेर बढी हुनु, तौल निकै बढी हुनु लगायतका शारीरिक अवस्था भएमा ती गर्भवतीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ। बच्चा जन्मिने समयसम्ममा उच्च रक्तचाप र मधुमेहको समस्यालाई नियन्त्रणमा लिएर आमालाई तयारी अवस्थामा राख्नुपर्ने हुन्छ। यही अवस्था भएका गर्भवतीहरूलाई भर्ना गरेर राख्ने र उनीहरूलाई निगरानीमा राखेर अवस्था सुधार ल्याउनको लागि छुट्टै व्यवस्थापन थिएन। चिकित्सकको निगरानीमा बस्नुपर्ने गर्भवतीहरूलाई अन्य बिरामीहरूकै वार्ड अथवा प्रसूति वार्डमा राख्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा नै नलागेका तर मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्नको लागि केही दिन अगाडिबाट नै अस्पतालमा भर्ना गर्दा प्रसूतिका लागि आउनेहरूलाई शय्या अभाव हुन्छ। तर अब भने चिकित्सकको निगरानीमा रहनुपर्ने गर्भवतीहरूलाई छुट्टै राखेर निःशुल्क बस्ने खाने सुविधा सहितको ‘आमा घर’ सञ्चालनमा आएको छ। बिरामी भएका, टाढा घर भई आउने जाने गर्नमा समस्या भएका लगायत समस्या भएका गर्भवतीहरू सुत्केरी हुने बेलासम्म प्रतीक्षा गरेर बस्न र सुत्केरी भएपछि पनि आवश्यकताअनुसार बस्नका लागि ‘आमा घर’ सञ्चालनमा ल्याइएको पर्वत अस्पतालका अध्यक्ष शङ्कर गिरीले बताए।

अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट आएको बजेटबाट भौतिक संरचना निर्माण गरिएको भए पनि ‘आमा घर’ सञ्चालनको लागि भने बजेट आएको छैन। तर पनि अस्पतालको आन्तरिक स्रोत र अन्य स्रोत खोजेर चलाउँदा गर्भवतीलाई सुविधा हुने भएकोले शुक्रवारदेखि ‘आमा घर’ सञ्चालनमा ल्याइएको उनको भनाइ छ। ‘आमा घर सञ्चालनका लागि सरकारबाट बजेट त आएको छैन। अस्पतालमा भर्ना भएर बसेका बिरामीहरूलाई सरकारी खाना निःशुल्क रूपमा मिल्छ। आमा घरमा बस्नुहुने गर्भवतीहरू पनि भर्ना गरेर नै राख्ने भएकोले उहाँहरूले पनि त्यही निःशुल्क खाना पाउने भएकाले खानाको व्यवस्थापनमा समस्या हुँदैन’, अध्यक्ष गिरीले भने, ‘यसमा खट्ने व्यक्तिहरू र यसमा अतिरिक्त व्यवस्थापनको लागि आवश्यक पर्ने खर्चका लागि केही मात्रामा अस्पतालको आन्तरिक स्रोतबाट पनि व्यवस्था गर्न सकिएला। त्यसबाहेक एउटा गैर सरकारी संस्थासँग पनि सहकार्यको लागि कुराकानी भइरहेको छ।’

‘आमा घर’ मा अहिले सुरुमा तीन वटा शय्याहरू राखिएको र आवश्यक भएको अवस्थामा अझै दुईवटा शय्या थप्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए। गर्भवती महिला आफैले आफूलाई बस्न मन लाग्यो भन्दैमा ‘आमा घर’ मा बस्न नपाइने बताउँदै उनले गर्भवतीको अवस्थाका बारेमा स्वास्थ्यकर्मीले जानकारी लिएर राख्नुपर्ने देखिएमा मात्रै बस्न पाइने जानकारी दिए। ‘कति टाढाको गर्भवती हुनुहुन्छ हामी पहिले त त्यो हेर्छौँ। कोहीलाई एक÷दुई हप्तापछि बोलाए हुने अवस्था छ भने अहिलेबाट नै बसाल्नु परेन। हाई रिस्क भएकाहरू विशेष सुविधा सहितका अस्पतालमा जाने भए पनि मिडियम रिस्क भएकाहरूलाई हामी यहीँ राख्छौँ’, डा. बास्तोला भन्छन्, ‘डेलिभरीको डेट आउन लागेको छ तर आमामा सुगर, प्रेसर, लगायतका समस्याहरू देखिएका छन् भने आमा घरमा राखेर ती अवस्थालाई नियन्त्रणमा लिएर सुत्केरी हुने बेलाका लागि ठिक स्वास्थ्य अवस्थामा राख्छौँ।