झापा : बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यो वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए। गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साहित बनेर यसपालि खेती गरे। तर सोचेजस्तो बिक्री नभएपछि उनी मारमा परेका छन्। तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुंगाले बजार कब्जा गरेका कारण स्वदेशी सयपत्री फूल बिक्री नभएको उनको भनाइ छ। ‘भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो’, उनले भने, ‘जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो। हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेनन्।’अहिले उनको फूलखेतीमा दुई हजार पाँच सय केजी सयपत्री ढकमक्क फुलेको छ। कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उनले बताए। हालको बजारभाउअनुसार तिहारमा कम्तीमा पाँच लाखको फूल बिक्री हुने आशा गरेका उनले ७० हजारको मात्र फूल बिकेको जानकारी दिए। उनले फूलखेतीमा एक लाखभन्दा बढी लगानी गरेको बताए। शुरुमा प्रतिकेजी २५० मा फूल बोटबाटै बिक्री भएता पनि तिहारको मुख्य दिनमा ५० प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उनको गुनासो छ। ‘ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँसहर डुलाउँदासमेत बिकेन’,उनले भने। झापामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलीमिली बत्ती बिक्री हुने गरेको छ। खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन्।