बीपी प्रतिष्ठानमा कमिसनकै लागि भेन्टिलेटर खरिदमा यसरी गरियो सेटिङ

14

काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शय्याको मातृ तथा शिशु अर्थात म्याटर्नल एन्ड चाइल्ड हेल्थ (एमसिएच) भवन निर्माणको काम भइरहेको छ। भवन निर्माणको काम अझै सकिएको छैन। भवन निर्माण सम्पन्न भएर कहिले प्रतिष्ठानलाई हस्तान्तरण हुने भन्ने पनि अझै टुंगो लाग्न नै बाँकी छ। तर निर्माण सम्पन्न हुने टुंगो नै नलागेको उक्त भवनमा आइसीयूका लागि भन्दै एक वर्षअघि नै २० वटा भेन्टिलेटर खरिद गरेर थन्काइएको छ। कमिसनकै लागि ती भेन्टिलेटर खरिद गरिएको विषय यसअघिको श्रृंखलामा प्रकाशित गरेका छौं। यो श्रृंखलामा हामी कसरी ठेकेदार कम्पनीसँग सेटिङ गरियो र खरिद प्रक्रिया अगाडि बढाइयो भन्ने विषयमा केन्द्रित भएका छौं।

एमसिएच भवनका लागि भेन्टिलेटर खरिदको विषय प्रतिष्ठानको वार्षिक कार्ययोजनामा नै थिएन। आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्ययोजनामा नै नभएको विषय एकाएक आर्थिक वर्षको अन्तिममा स्वास्थ्य मन्त्रालयसँग बजेट माग गरेर अगाडि बढाएको देखिन्छ। प्रतिष्ठानका तत्कालिन उपकुलपति डा ज्ञानेन्द्र गिरी (हाल निलम्बित) ले एमबिएम सर्जिकल एन्ड डेन्टल हाउस प्रालीका निर्देशक संदिप राउतसँगको मिलेमतोमा भेन्टिलेटर खरिद गर्ने योजना बनाएका हुन्। राउतसँगकै छलफलपछि डा गिरीले स्वास्थ्य मन्त्रालयमा मेसिनरी तथा औजार शिर्षकमा बजेट माग गरेका थिए। सोही अनुसार प्रतिष्ठानको खातामा २०७९ असार २ गते मेसिनरी तथा औजार शिर्षकमा १० करोड रुपैयाँ जम्मा भएको देखिन्छ।

प्रतिष्ठानको खातामा रकम जम्मा भएपछि डा गिरीले प्रतिष्ठानका तत्कालिन निर्देशक जगतनारायण प्रसाद, लेखा प्रमुख मोहन राई, खरिद शाखा प्रमुख सागर ताम्राकार, मुल्यांकन समिति संयोजक डा प्रमेन्द्र गुप्ता, मेडिकल स्टोरका संजिब कर्ण र इल्क्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रलाई हातमा लिएर एमसिएच भवनका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरे। भेन्टिलेटर खरिदका लागि रकम विनियोजन गर्नुअघि उनीहरुले एमसिएच भवन निर्माणको प्रगतिका विषयमा कुनै पनि जानकारी नलिएको छानबिन प्रतिवेदनमा उल्लेख छ। उपकरण खरिदमा सेटिङ भएको गुनासोपछि ७ सदस्यी छानबिन समिति बनेको थियो। उक्त समितिले प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन भने अझै गोप्य राखिएको छ। गोप्य राखिएको उक्त प्रतिवेदन प्रतिष्ठान स्रोतले स्वास्थ्यखबरलाई उपलब्ध गराएको छ।

प्रतिष्ठानमा अत्यावश्यक औजार उपकरण खरिदका लागि भनेर आर्थिक वर्षको अन्तिममा पठाइएको १० करोड बजेटलाई तत्कालिन उपकुलपति डा गिरीकै निर्देशन अनुसार बन्दै नबनेको भवनमा कमिसनकै लागि २० वटा भेन्टिलेटर खरिद गरिएको विषय छानबिन समितिको प्रतिवेदनबाट पनि पुष्टि हुन्छ। छानबिन समितिले उक्त ठेक्का रद्द गर्दै जमानत जफत गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सुझाव दिएको छ। छानबिन समितिले २० थान भेन्टिलेटर खरिदको रकम भुक्तानीको प्रक्रियामा संलग्न उपकुलपति डा गिरी, अस्पताल निर्देशक जगतनारायण प्रसाद, खरिद शाखा प्रमुख सागर ताम्राकार, मुल्यांकन समिति संयोजक डा प्रमेन्द्र गुप्ता, लेखा प्रमुख मोहन राई, मेडिकल स्टोरका संजिब कर्ण र इल्क्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रलाई समेत कारबाही गर्न सुझाव दिएको छ। यसका साथै ठेकेदार कम्पनीलाई पनि कारवाही गर्नुपर्ने सुझाव समितिको छ।