महानगरमा दुईदिने निःशुल्क आँखा शिविर

27

काठमाडौं : काठमाडौं महानगरपालिकाले दुईदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ।
बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो। काठमाडौं महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्यस्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।

शिविरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको बताए। उनले अप्रेशन गर्नुपर्ने भएकाहरुलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताए। उनले भन्नुभयो, ‘सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको हो। आज र भोलि यो शिविर सञ्चालन गर्नेछौँ। शिविरमा २ हजारसम्म कर्मचारीलाई यो सेवा दिनसक्छौँ। यो निःशुल्क शिविर हो, निःशुल्क जाँच हुन्छ, निःशुल्क उपचार हुन्छ। अप्रेशन गर्नुपर्ने भए उहाँहरुलाई नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्नेछौँ।’विश्व दृष्टि दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा जाँच गरेको हो।