अख्तियार प्रमुख राईलाई सांसद लामिछानेको प्रश्न : खोइ त ठूला माछा ?

18

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा लामिछानेले वाइडबडी विमान खरिद प्रकरण, लडाकु शिविर अनियमितता, ओम्नीलगायत चर्चामा रहेका ठूला प्रकरणबारे प्रमुख आयुक्तसँग जवाफ मागेका हुन् । ‘लडाकु शिविर घोटाला छानबिन कता पुग्यो ? टुंगियो कि, कहाँ छ? वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो? वाइडबडीमा घोटाला भएको लेखा समितिले निष्कर्ष निकालेर कारबाही गर्न सिफारिस गरेको थियो । यती लिजमा दिएको कहाँ पुग्यो ? ओम्नी फाइल क्लोज भयो कि ? के भयो?,’ लामिछानेको प्रश्न थियो ।

त्यस्तै प्रतिनिधिसभा सदस्य लामिछानेले एन्फाका तत्कालीन अध्यक्षले गरेको अनियमितताबारे अख्तियारले किन अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भनेरसमेत प्रश्न गरे । उनले सोधे, ‘तत्कालीन एन्फाका अध्यक्षले भ्रष्टाचार गरेको विदेशीले देख्ने ? हामीले नदेख्ने? मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय अख्तियारले हेर्नपर्छ । तपाईंहरूलाई कसैले छेकेको बाँधेको हो कि? डर मानेको हो कि ?’त्यस्तै उनले दुई तिहाई मुद्दामा अख्तियार असफल भएको पनि बताए । ‘विगत ५ वर्षमा मुद्दा दर्ताको नाजुक अवस्था छ । मुद्दा दर्ताको संख्या घटेको छ । डर भएर रहेको हो ? जसको पहुँच छैन उसलाई डर । खोइ त ठूला माछा ?,’ उनले सोधे ।