Thursday, October 22, 2026
Home समाचार महेन्द्र राजमार्ग व्यक्तिको नाममा

महेन्द्र राजमार्ग व्यक्तिको नाममा

181

गौर : सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले चासो नदिँदा महेन्द्र राजमार्ग रहेको जग्गा व्यक्तिको नाममा रहेको छ।सडक विभागले व्यक्तिको नाममा रहेको जग्गाको लगत कट्टा गरी राजमार्ग कायम गर्न चासो नदिँदा हाल प्रयोग हुँदै आइरहेको नक्सामा पूर्वपश्चिम राजमार्ग नै छैन।राजमार्गको क्षेत्राधिकारमा पर्ने जग्गाको लगत कट्टा नहुँदा जग्गाधनीहरू मालपोत तिर्न बाध्य छन्। रौतहटको चन्द्रपुर नगरपालिकाको जंगल टोलदेखि चाँदी पुलसम्मको राजमार्ग अहिले पनि व्यक्तिको नाममा छ। त्यस क्षेत्रमा राजमार्गले छोएको जग्गा खरिद गर्नेले पछि किचलो नहोस् भनेर राजमार्ग नै आफ्नो नाममा पास गर्ने गरेका छन्। वर्षौंदेखि यसरी राजमार्ग किनबेच भइरहेको छ।

राजमार्ग बनेको वर्षौं भइसक्दा पनि सडकले आफ्नो नाममा राजमार्गको जग्गा ल्याउन पहल नगर्दा स्थानीयले सास्ती खेप्नु परेको छ। आफ्नो जग्गाले राजमार्ग छोए पनि आफ्नो जग्गाको अगाडि व्यक्तिको नामको जग्गाको कित्ता देखिदा किनबेच, कित्ताकाट तथा बैंकिङ कारोबार गर्न समेत समस्या भोग्नु परेको छ। यस बारेमा गुनासो लिएर सम्बन्धित कार्यालयमा जाँदा सडक, मालपोत र नापी एक अर्कालाई देखाएर पन्छिने गरेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बताए। सडक डिभिजनले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ र चन्द्रनिगाहपुर गौर खण्ड दायाँबायाँ १५ मिटर मापदण्ड राखेको छ। हाल राजमार्गमा जग्गा परेका जग्गाधनीले डिभिजन सडक कार्यालयमा जग्गाको लगत कट्टा गर्न निवेदन दिएपछि मात्र मालपोत तथा नापी कार्यालयलाई लगत कट्टा गर्न सिफारिस गर्ने गरेको छ।ो विषयसँग सम्बन्धित समस्या लिएर आउने सेवाग्राहीलाई कर्मचारीले कुनै समाधान दिन नसकेको सापकोटाले बताए।