काठमाडौं : सरकारले बडादशैँ, तिहार र छठ पर्वमा घर जाने यात्रुलक्षित अग्रिम टिकट बुकिङ खुला गरेको छ। संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको हो। घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको घुइँचो लागेको छ। यो वर्ष विगतको तुलनामा यात्रुको भीडभाडसमेत बढेको छ।अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता र उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दशैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौं उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ।